रियल मड्रिड विश्वको मुल्यवान फुटबल क्लब

एजेन्सी : रियल मड्रिड विश्वको मुल्यमान फुटबल क्लब बनेकाे छ । म्यानचेष्टर युनाईटेडलाई पछि पार्दै रियल यस बर्षको विश्वको मुल्यवान फुटबल क्लब घोषित भएको हो । यस बर्ष खराब सिजन बिताएको रियलले अघिल्ला तीन संस्करणमा लगातार तीन च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

ग्लोबर कन्सट्रक्सन सर्भे केपीएमजीले निकालेको रिपोर्ट अनुसार रियल मड्रिडको मुल्य २ दशमलव ९ विलियन पाउण्ड रहेको छ । रियल पछि दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेडको मुल्य २ दशमलव ८३ विलियन पाउण्ड रहेको छ । रियलको प्रतिद्वन्दी क्लब बार्सिलोना भने शीर्ष तीनबाट बाहिर छ । युरोपेली क्लब फुटबलमा प्राप्त गर्न नसकेको सफलताले बार्सिलोनाको ब्राण्ड मुल्यमा गिरावट आएको बताईएको छ ।

बार्सिलोना २ दशमलव ४१ विलियन पाउण्ड सहित चौथो स्थानमा छ । जर्मन महारथी बार्यन म्युनिख २ दशमलव ४३ विलियन पाउण्ड सहित तेस्रो स्थानमा रहेको छ । पाँचौ स्थानमा प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी छ । उसको मुल्य २ दशमलव २ विलियन पाउण्ड रहेको छ । छैटौ स्थानमा रहेको लण्डन क्लब चेल्सीको मुल्य २ विलियन पाउण्ड रहेको छ ।

यस्तै, सातौ स्थानको लिभरपुलको १ दशमलव ९ विलियन पाउण्ड, आठौं स्थानमा रहेको आर्सनलको १ दशमलव ८ विलियन पाउण्ड, नवौं स्थानमा रहेको टोटेनहम हट्सपरको १ दशमवलव ५ विलियन पाउण्ड र दशौं स्थानमा रहेको युभेन्ट्सको १ दशमवलव ३ विलियन पाउण्ड रहेको छ । रिपोर्टमा युरोपका ३२ क्लब समावेश छन् । क्लबले प्राप्त गरेको नाफा, लोकप्रियता, खेल क्षमता, प्रसारण अधिकार र स्टेडियमको क्षमताका आधारहरुको मुल्य निर्धारण गरिएको हो ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ०९:२०