बेइजिङका सयौँ उडान र रेलसेवा रद्द

बेइजिङ : चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएपछि जनजिवन असहज बन्दै गएको छ । बेइजिङ्ग सामान्य जिवनमा फर्किरहँदा भाइरसको दोस्रो प्रकोपले फेरी जनजिवन असहज बन्दै गएको हो ।

पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार करीब एक हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् । बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ । बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ ।


प्रकाशित | ३ असार २०७७, बुधबार १५:५५