प्रदेश ३ को नाम गौरीशंकर राख्न विज्ञदेखि सांसदसम्मको सुझाव

काठमाडौं : प्रदेश नम्बर ३ को नाम हिमालबाट राख्नुपर्ने र गौरीशंकर त्यसका लागि उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले प्रस्तावित विभिन्न नाममध्ये गौरीशंकर उपर्युक्त हुने धारणा राखेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद पशुपति चौंलागाई, पूर्व मन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दिपेन्द्र श्रेष्ठ, डा.प्रदीप मैनालीसहितले प्रदेशभरको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशंकर हुने बताउनुभयो ।

उक्त नामाकरणको निर्णय गर्न सांसद खड्काले गत साता प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेका छन् । त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि बरिष्ठ कलाकार मदनदाश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको जानकारी कार्यक्रममा दिइयो । ‘पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारण समेत गौरीशंकर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौं’, कार्यक्रममा बरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले भन्नुभयो ।

नेता चौलागाईले नाम र राजधानीको विषयमा प्रदेश सभाको यही अधिवेशनमा मतदान हुने औंल्याउदै गौरीशंकर हुन सक्ने सम्भावना राखे । काठमाडौंका प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठले हिमालै हिमाल भएको प्रदेशमा हिमालबाटै नामाकरण हुनु उपर्युक्त हुने सुझाव दिए । प्रस्तावक सांसद विशाल खड्काले गौरीशंकर नामाकरण गर्नुपर्ने आधार र कारणहरु राखेका थिए ।

डा. मैनालीले गौरीशंकरको महिमा पशुपतिदेखि त्रिशुली सम्म जोडिएको प्रसङ्ग झिक्दै हिमालय पर्वत श्रृंखलाबाटै नामाकरण गर्दा उचित समेत हुने भएको धारणा राख्नुभएको थियो । कार्यक्रममा अभियानका तर्फबाट समाजसेवी सोभित उप्रेत्ति, कानुनव्यवसायी प्रवीण प्रधान, बरिष्ठ पत्रकार बालकृष्ण बस्नेत, दिलिप थापामगर, सन्तोष खड्कासहितले यो प्रदेशको नामाकरण हिमालबाटै गर्दा सर्वस्वीकार्य हुने भएकाले गौरीशंकर राख्नु सुझाउनुभएको थियो । त्यसअवसरमा यही सन्दर्भमा आइतबार दिउसो काठमाडौंमा बृहद अन्तक्र्रिया गर्ने जानकारी समेत दिइएको थियो ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १८:०५