सूर्यविनायकका प्रत्येक वडामा सहकारी मार्फत कम्तीमा एउटा सुपथ मुल्य पसल संचालनमा ल्याइने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले प्रत्येक वडामा सहकारी मार्फत कम्तीमा एउटा सुपथ मुल्य पसल संचालनमा ल्याउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले सो कुरा उल्लेख गर्नु भएको हो ।

सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम सहकारी संस्था दर्ता तथा सञ्चालित सहकारीहरुको नियमित अनुगमन र नियमन गरिने, नगरपालिका र सहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवद्र्धन गरी रोजगारी र आय आर्जन वृद्धिमा जोड दिने र सहकारी मार्फत जनताको जीवनस्तरमा सुधार गर्न सहकारीको समुचित व्यवस्थापन गरी उत्पादित बस्तुको बजारीकरणमा जोड दिइने भएको छ ।

सहकारी संस्थाको प्रवद्र्धन र संस्थागत क्षमता विकासको लागि विविध सीपमूलक तालिम कार्यक्रम संचालन गर्ने र प्रत्येक सहकारीले वार्षिक रुपमा कम्तिमा दुईवटा सामाजिक कार्य गरी सोको प्रतिवेदन सम्बन्धित वडा कार्यालय र नगरपालिकामा पेश गर्नुपर्ने कार्यलाई कडाइका साथ लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, सहकारीको विश्वव्यापी सिद्धान्त र मूल्य मान्यता तथा सहकारी कानून अनुरुप सहकारीको दर्ता, संचालन, नियमन र अनुगमनलाई प्रभावकारी बनाउँदै नगरक्षेत्रमा संचालित सहकारी संस्थाको संस्थागत क्षमता विकासको लागि विविध सीपमूलक तालिम तथा कार्यक्रम संचालन गर्न आगामी आर्थिक वर्षको लागि सहकारी क्षेत्रमा २७ लाख बजेट विनियोजन गरिएको छ ।


प्रकाशित | २४ असार २०८०, आईतवार २०:११