एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनुः सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो । उखु उत्पादक किसान आफ्नो उखु बिक्रीको भुक्तानी नपाएको जनाउँदै आन्दोलनमा छन् ।
कृषकले आफ्नो पूँजी, मेहनत, पसिना र कतिपयले बैंकसँग व्यक्तिगत कर्जा लिएर उखु उत्पादन गरेको मूल्य तत्काल प्राप्त गर्न नसक्नाले आफ्नो जीविकोपार्जन, परिवारको भरणपोषण, शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक विषयमा खर्च गर्न नसक्नाको अलावा उल्टो कर्जाका मारमा परिरहनुपरेको अवस्थाले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकसमेत हनन भएको आदेशमा जनाइएको छ ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार ०७:२४