आईसीसी विश्वकप क्रिकेट: आजबाट अभ्यास खेल सुरु

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् ।

ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ । पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप सुरु गर्ने तयारीमा छ । अफगानिस्तानले पनि पाकिस्तानलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ ।  यसैगरी आजै त्यसै समयमा कार्डिफमा दक्षिण अफ्रिका र श्रीलंका खेल्दैछन् ।

विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् । आईसीसीले यस पटकदेखि विश्वकपका अभ्यास खेलको पनि प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । विश्वकपमा सहभागी १० टिमले लिग चरणमा सबैले सबैसँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल र फाइनल खेल हुनेछ । सेमिफाइनलमा पहिलो र तेस्रो स्थानको टिम तथा दोस्रो र चौथो स्थानको टिमले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १२:३३