संक्रमण पुष्टि भएका सबै मृत्युको प्रमुख कारक कोरोना नै हो त ? के हो यथार्थ ?

डा सन्तोष दुलाल

नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) विश्वव्यापी महामारीको रुपमा फैलिएर हालसम्म विश्वमा  करिब ६ लाख ५० हजारको मृत्यु गराइसकेको छ भने नेपालमा पनि ४५ जनाको ज्यान लिइसकेको छ। कोरोना सम्बन्धित पहिलो मृत्युको पुष्टि २०७७ जेठ ३ भएको थियो भने त्यसपछिका ७२ दिनमा ४५ मृत्युका घटना पुष्टि भएका छन्। विगत ५५ दिनमा प्रत्येक ३ दिनमा औसत २ जनाको कोरोना सम्बन्धित मृत्यु हुनुले नेपालमा पुष्टि भएका मृत्युका घटनाको प्रमुख कारक नै कोरोना हो त भनेर गम्भीर प्रश्न खडा गरेको छ?

पुष्टि भएका मृत्युका घटनामा कोरोनाको प्रमुख भूमिका छ वा छैन अथवा अरु कारकहरूको कस्तो भूमिका छ भनेर हालसम्म नेपालको कोरोना सम्बन्धित मृत्युको तथ्यांक र यससँग सम्बन्धित पक्षहरुको सूक्ष्म अध्ययन र विश्लेषण गरी संख्यात्मक विश्लेषण, ग्राफिकल (लेखा चित्र) प्रतिनिधित्व र परिणामहरूको तुलना गरिएको छ।

नेपालमा कोरोना प्रसारण र संक्रमण सम्बन्धितबाट हालसम्म मृत्यु हुनेहरुको तथ्यांक अनुसार:
–    जम्मा मृत्यु संख्या = ४५, परीक्षणमा मृत्यु दर = ०.२४ प्रतिशत, ३६ पुरुष (८० प्रतिशत) र ९ महिला (२० प्रतिशत)
न्युयोर्क सहर स्वास्थ्य कार्यालयद्वारा प्रदान गरिएको २०२० अप्रिल १४ सम्मको तथ्यांकमा महिला मृत्यु ३८ प्रतिशत थियो जुन नेपालको कोरोना सम्बन्धित महिला मृत्युभन्दा लगभग दुई गुणा जति देखिन्छ।

–    कुल मृत्युको, प्रदेश २ र ५ मा २२ प्रतिशत, बागमती प्रदेशमा २० प्रतिशत छ भने प्रदेश १ मा अहिलेसम्म कोरोना सम्बन्धित मृत्युको घटना रिपोर्ट गरिएको छैन। एक जना विदेशी (चिनियाँ) नागरिकको पनि कोरोना सम्बन्धित मृत्यु भएको छ।

–    कुल मृत्युका केसहरुमा औसत उमेर करिब ४७ वर्ष जति पाहिएको छ, जहाँ ४९ दिनदेखि ८५ वर्ष उमेरसम्मका घटनाहरु छन्, जुन पुरुष (औसत उमेर करिब ४८ बर्ष) र महिलामा (औसत उमेर करिब ४० वर्ष) केही भिन्नता भने छ तर पनि उल्लेखनीय भिन्नता (लेवल अफ सिग्निफिकेन्स) भने छैन। कुल मृत्युका केसहरुमा, ५० वर्ष वा कम उमेर समूहका कोरोना सम्बन्धित मृत्यु हुने ६० प्रतिशत छन्। 

न्युयोर्क सहर स्वास्थ्य कार्यालयद्वारा प्रदान गरिएको २०२० अप्रिल १४ सम्मको तथ्यांकमा ५० वर्ष वा कम उमेर समूहमा मृत्यु १० प्रतिशतभन्दा कम थियो जुन नेपालको सोही उमेर समूहमा मृत्युभन्दा ६ गुणा कम देखिन्छ। सोही उमेर समूहको मृत्यु अवस्था हेर्दा यो युरोपको आँकडासँग भिन्न हुन आउँछ।

–    कुल मृत्युका केसहरुमा करिब ७३ प्रतिशतमा दीर्घरोग (को-मोर्विडिटिज) थियो, प्रमुख को-मोर्विडिटिज पाइएको किडनी सम्बन्धित जटिलताहरु १३ प्रतिशतमा र क्षयरोग  ११ प्रतिशतमा। 

–    कुल मृत्युका केसहरुमा, करिब ३३ प्रतिशत आयतित थिए। आयतित केसहरुमा, ७ प्रतिशत मात्र कतारबाट आएका थिए भने ९३ प्रतिशत भारतबाट फर्किएका थिए। 

–    कुल मृत्युका केसहरुमा, करिब ७१ प्रतिशतमा मृत्युपछि मात्र कोरोना प्रयोगशालाबाट पुष्टि भएको थियो भने ६७ प्रतिशत अस्पतालमा र १३ प्रतिशत क्वारेन्टाइनमा ज्यान गएको थियो।

नेपालमा ५० वर्षभन्दा बढी उमेर समूहका कोरोना सम्बन्धित मृत्यु हुने व्यक्तिहरूमा सतप्रतिशत को-मोर्विडिटिज पाइएको छ भने यो उमेर समूहमा प्रमुख को-मोर्विडिटिज किडनी सम्बन्धित जटिलताहरु २२ प्रतिशतमा, क्षयरोग, मुटुसँग सम्बन्धित जटिलताहरु र मधुमेह क्रमशः ११ प्रतिशतमा थियो। ५० वर्ष वा कम उमेर समूहका कोरोना सम्बन्धित मृत्यु हुने व्यक्तिहरूमा ५५ प्रतिशतमा मात्र को-मोर्विडिटिज पाइएको छ।

कोरोनाको पुष्टि हुने ५० वर्ष वा कम उमेर समूहका व्यक्तिहरूमा भन्दा कोरोनाको पुष्टि हुने ५० वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिहरूमा मृत्युको जोखिम लगभग १२ गुणा बढी देखिएको छ जसको तुलना गर्दा उल्लेखनीय भिन्नता पाइएको छ।

५० वर्ष वा कम उमेर समूहका कोरोना सम्बन्धित मृत्यु हुने व्यक्तिहरूमा, ४१ प्रतिशत आयतित केसहरु थिए, यीमध्ये ६४ प्रतिशत भारतबाट धेरै दिनको कष्टकर यात्रा गरेर फर्केका थिए।

माथिका तथ्य र विविध पक्षहरु केलाउँदा, पुष्टि भएका मृत्युका घटनाहरुको प्रमुख कारक को-मोर्विडिटिज जसलाई थप गम्भीरता कोरोनाले बढाएको देखिन्छ। 

कोरोना नै यस मुद्दाको कारक हो भन्ने निष्कर्षमा पुग्न अन्य देशहरूको पनि सम्बन्धित डेटा समावेश गरेर व्रिस्तित अध्ययन र अनुसन्धान गर्न आवश्यक छ। 

तर, वर्तमान परिस्थितिमा दीर्घरोगीहरु जो अस्पताल अपचारको लागि भर्ना हुने बित्तिकै कोरोनाको परीक्षण, निदान र सावधानीका साथ उपलब्ध उपचार यथाशीघ्र गर्नुहुन्छ। साथै कोरोना नेपालमा पूर्ण नियन्त्रणमा आइनसकेकोले अझै हामीले कोरोना प्रसारण र संक्रमणको रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाइका साथ पालना गर्नुपर्ने हुन्छ। स्रोत -स्वास्थ्य खवर


प्रकाशित | १२ श्रावण २०७७, सोमबार १८:०२

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *