मध्य भेगमा आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाण्डौ: पश्चिमी वायुको प्रभावका कारण बिहान काठमाण्डौको आकाशमा बादल लागेको छ ।आज दिनभर काठमाण्डौलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ । वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

तराइका भेगमा भने आज दिनभर मौसम सफा रहने पनि मौसमविद् नगरकोटीले बताउनुभयो । पानी नपर्ने भएकाले तराइका भेगमा भने गर्मी हुने सम्भावना छ भने पहाडी भेगमा केही शीतल हुने अनुमान रहेको पनि मौसमपुर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार ०९:४४