विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई सहयोग पुर्‍याउन सरकार र एनआरएनएबीच समन्वय गर्ने समझदारी

भिसा तथा श्रम स्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अप्ठेरोमा परेर स्वदेश नफर्की नहुने आपतकालीन अवस्था भएकालाई सहयोग पुर्‍याउन सरकार र संघबीच समन्वय गर्ने समझदारी

काठमाडौं : कोरोना भाइरसले विश्वब्यापी महामारी लिइरहेको बेला गैर आवासीय नेपाली संघ(एनआरएनए ) विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न सक्रिय देखिएको छ । वैदेशिक रोजगारी वा अन्य कामको सिलसिलामा विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई कसरी सहयोग पुर्‍याउने भन्ने सन्दर्भमा आज गृह मन्त्री रामबहादुर थापा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गैरआवासीय नेपाली संघको टोलीले भेटेर छलफल गरेको हो ।

एनआरएनए उपाध्यक्ष तथा वैदेशिक रोजगार बिभाग प्रमुख बद्री केसीको नेतृत्वमा गएको टोलीले मन्त्रीद्धयलाई भेटेको हो ।

भेटमा भिसा तथा श्रम स्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अप्ठेरोमा परेर स्वदेश नफर्की नहुने आपतकालीन अवस्था भएकालाई सहयोग पुर्‍याउन सरकार र संघबीच समन्वय गर्ने समझदारी बनेको छ ।

यसअघि नेपाल सरकारले विदेशमा रहेका गैर आवासीय नेपालीसहितलाई आगामी अप्रिल १५ सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि गैर आवासीय नेपाली संघले त्यसबाट पर्ने असरको विषयमा मन्त्रीद्धयलाई जानकारी गराएको हो ।

उपाध्यक्ष केसीका अनुसार मन्त्रीद्धयले एकहप्ताभित्रमा सो निर्णयमा पुर्नविचार गर्न सकिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

त्यस्तै, एनआरएनए अध्यक्ष कुमार पन्तले विदेशमा अप्ठेरो अवस्थामा रहनुभएका वा त्यसबारे जानकारी हुनुभएका जोकोहीले सम्बन्धित दूतावास वा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा सम्पर्क गर्नहुन अनुरोध गर्नुभएको छ ।

पन्तले भन्नुभएको छ, ‘यो विषम परिस्थितिमा हामी सकेसम्म जो जहाँ छौँ त्यहीँबाट मुकाबिला गर्नुको विकल्प छैन । आपतकालीन अवस्थामा उद्धार वा सरसयोगका निम्ति हामी सरकारसँग निकट सम्पर्कमा छौँ । सरकार पनि यसमा निकै सकारात्मक र तत्पर रहेको हामीले पाएका छौँ ।’


प्रकाशित | ७ चैत्र २०७६, शुक्रबार १७:३१