सांसद पुष्पा भुसालद्धारा पाँचथर घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको माग

काठमाडौँ : प्रतिनिधिसभा सांसद पुष्पा भुसालले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पुष्पा भुसालले उक्त घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न आग्रह समेत गर्नुभयो ।

त्यस्तै, प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताउनुभयो । गएराति भएको घटनामा ९ जनको हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १८:००