राजु सप्तडी बस्नेत
भ्रष्टाचार दुईवटा शब्दको संग्रहबाट बनेको छ। एउटा “भ्रष्ट” र अर्को “आचार”। अब भ्रष्ट भनेको के हो त भन्दा खराब चरित्र,पतित व्यक्तित्व,अनैतिक या असंवैधानिक र अपराधीक कदमलाई जनाउँछ। आचार भनेको चाहिँ आचरण अर्थात् व्यवहार हो।यसरी दुवै शब्दलाई जोड्दा भ्रष्टाचार हुन्छ जसले खराब आचरण र अपराधहरुलाई जनाउँदछ। सामान्यतया सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो निजी हितको लागि अधिकारको दुरुपयोग गर्नु,आर्थिक अनियमितता गर्नु वा कोषको अपचलन गर्नुलाई भ्रष्टाचार भनिन्छ ।तर आज भ्रष्टाचार धेरै व्यापक रुपमा अभ्यास भइरहेको हुनाले यसको अध्ययनको क्षेत्र र दृष्टिकोणलाई पनि फराकिलो पार्नु जरुरी छ।यसलाई मसिनो गरी बुझ्नु जरुरी छ। जसरी अहिले आम मनिसमा भ्रष्टाचार लाई बुझाइएको छ त्यो प्रयाप्त छैन।भ्रष्टाचारको मान्यतालाई जुन तरिकाले राजनितिक वृतमा,कर्मचारी तन्त्रमा या प्रशासनिक निकायमा र न्याय प्रणालीमा मात्र सिमित राखिएको छ त्यो बाहेक बाहिर पनि भ्रष्टाचार व्याप्त छ।जसमा विभिन्न व्यक्तिगत र सामाजिक व्यवहारहरु, चरित्रहरु,मुल्यमान्यताहरु र व्याख्यारु पर्न आउँछन।तर सबै भन्दा ठुलो परिमाणमा हुने भ्रष्टाचार भनेको राजनैतिक भ्रष्टाचार नै हो र भ्रष्टाचारको प्रमुख सम्रक्षक पनि राजनीति नै हो।तुमेव माता च पिता भने जस्तै भ्रष्टाचारको माता पिता दुवै राजनीति नै हो।फेरी राजनीति नै भ्रष्टाचार निर्मुलनको अहम सत्य पनि हो ।तर राजनीतिमा जाने व्यक्ति पनि नागरिक समाज बाटै जाने हुदा नागरिक समाज पनि सुध्रिनु जरुरी छ।
भ्रष्टाचार अहिले संस्थागत नै भइसकेता पनि यस बारेमा बुझ्नलाई व्यक्तिगत तवरबाट नै हेर्नु पर्ने हुन्छ। मान्छेमा हुने लालच र अति महत्वकांक्षा यसका आधारभुत कारण हुन।नैतिकताको घाँटी निमोठेर,अवैधानिक बाटो प्रयोग गरेर आपराधिक ढङ्गले व्यक्तिगत महत्वकांक्षाहरु प्राप्त गर्न खोज्दा भ्रष्टाचारले जन्म लिन्छ।एउटा व्यापारीले कमसल वस्तु या कुनै पनि वस्तुको परल मुल्य भन्दा ज्यादै महङ्गोमा बेच्नु भ्रष्टाचार हो।विशेषगरी कालो बजारी गर्नु,कृतिम अभाव सृजना गरि मुल्य वृद्धि गर्नु भ्रष्टाचार हो। स्वास्थ्यकर्मिले गर्ने गलत रिपोर्टिङ पनि भ्रष्टाचार कै सहायक हो।उदाहरणका लागि वीर अस्पतालमा रहेका स्वास्थ्य उपकरणको क्षमता नजिकै रहेको व्यक्तिगत किल्निकको भन्दा न्युन स्तरको हुन्छ। विरामीलाई भन्ने गरिन्छ तपाईँ फलानो किल्निकमा गएर जचाएर रिपोर्ट लिएर आउनुस किनकी यहाँ कम गुणस्तरको छ या यहाँको उपकरण विग्रिएको छ या फलानो फार्मेसी मा गएर यो यी औषधि लिएर आउनुस तपाईंको उपचार आजै हुन्छ नत्र भोलि आउनुस,एक महिना पछि आउनुस जस्ता गतिविधिहरु।जहाँ सिधै कमिशनको सेटिङ्ग हुन्छ र बिरामीलाई बाहिर जान चर्को शुल्क तिर्न बाध्य पारीन्छ। यी सबै भ्रष्टाचार हुन र ति स्वास्थ्य कर्मचारीहरु भ्रष्टाचारी हुन।त्यसैगरी स्वास्थ्य उपकरण खरीदमा हुने गरेका आर्थिक अनियमितताहरु सबै सबै भ्रष्टाचार हुन।पत्रकारले निजी या आफ्ना पक्षका व्यक्तिको आर्थिक या गैर आर्थिक लाभको लागि गरिने झुटा र भ्रामक समाचारहरु सम्प्रेषण पनि भ्रष्टाचार हो र त्यस्ता पत्रकार भ्रष्टाचारी हुन।अहिले यस किसिमको सुचना तथा सञ्चारगत भ्रष्टाचार व्यापक छ। आफ्नो भिउज , लाइक, कमेन्ट र सब्स्क्राइबर बढाउने दौडमा कसैको चरित्र हत्या,मानहानी र पत्रकारिताको मुल्य विरुद्ध गैरजिम्मेवार ढङ्गले प्रस्तुत गरिने क्रियाकलाप पनि भ्रष्टाचार हो। उत्तेजना फैलाउने ,समाजमा हिङ्सा भड्काउने अभिव्यक्ति या लेख रचना सबै भ्रष्टाचार कै पोषक हुन।
भ्रष्टाचार यस्तो विषय हो जस्को हामी धेरै भन्दा धेरै उदाहरण हरु दिन सक्छौँ। राजनीतिक वृत्तमा भएका प्रख्यात भ्रष्टाचार काण्डहरु देखि लिएर निजी जिवनमा भएका महरा काण्डहरु पनि भ्रष्टाचार कै पुलिन्दा हुन।सरकारी तवरमा हुने पद,अधिकार र शक्तिको दुरुपयोग को अलवा आम मानिसको नैतिक गिरावट पनि भ्रष्टाचार हो। त्यसैले सार्वजनिक पद धारण गरेर बसेका व्यक्तिले घुस खानु,नातावादमा लिप्त हुनु,आफ्नो र आफ्नाको लागि काम गर्नु,सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु,सार्वजनिक दायित्वहरू पुरा नगर्नु,सार्वजनिक सम्पत्ति खरिद विक्री तथा ठुला परियोजना सञ्चालनमा कमिसन र आर्थिक लाभ लिनु भ्रष्टाचार को आम बुझाई हो।अझ सार्वजनिक जीवनमा संविधानतः स्विकृत सीमा विरुद्ध गएर व्यक्तिगत तथा समूहगत लाभको लागि राज्य प्रणालीको दुरुपयोग गरी राज्य दोहन गर्नु भ्रष्टाचार हो।आम भाषामा भन्दा नैतिकता,ईमान्दारिता र कर्तव्यनिष्ठामा टाट पल्टिएर बेइमानी ,जालसाजी,अन्याय जस्ता अपराधहरुले सामाजिक हैसियत पाएको अवस्था नै भ्रष्टाचार हो ।गोविन्द राज जोशी र महरा जेलबाट छुट्दा फुलमाला लिएर स्वागतमा पुग्ने प्रवृत्ति नै भ्रष्टाचारको युरिया मल हो।भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दै गर्दा सार्वजनिक सम्पत्तिमा क्षेती पुर्याउने कार्य पनि भ्रष्टाचार हो ।
समाजमा व्याप्त असमानता,विभेद,थिचोमिचो,अन्याय र अत्याचार सबै भ्रष्टाचार हो ।व्यविचार , दुराचार, मिथ्याचार, स्वेच्छाचार, अत्याचार, दुष्प्रचार, अशिष्टचार, सबै नै भ्रष्टाचार हो। शैक्षिक क्षेत्रमा विद्यार्थीले परीक्षामा चोरी गरेर पास गर्नु, शिक्षकले इमान्दार भएर नपढाउनु,कक्षामा भन्दा ट्युसन पढ्नमा विद्यार्थीलाई बडी प्रभावित पार्नु,कपी जाँच गर्दा अनुपयुक्त अंक दिनु या उत्तर नलेखेको प्रश्नलाई पनि अंक दिनु पनि भ्रष्टाचार हो। यस अझ के छ भने आफ्नो नातेदार या नजिकको मान्छेलाई निजी कोटा या राहत कोटामा तिकडम बाजी गरेर जागिर खुवाउनु भ्रष्टाचार हो।त्यसरी जागिर खाने र खुवाउने दुवै भ्रष्टाचारी हुन। जसमा पहिलै प्रश्नपत्र सम्बन्धित व्यक्तिकोमा गोप्य ढङ्गले पुर्याउने खेलहरु हुन्छन। कतै तिन चार महिनाको तलब व्यवस्थापन समितिका अध्यक्ष या प्र अ लाई बुझाउनुपर्ने सर्तहरु पनि देखिन्छ। विना विल या भौचर प्र अ तथा शिक्षकले गरेका अप्रमाणिक खर्चलाई पास गराउने वि व्य स को क्रियाकलाप पनि भ्रष्टाचारको सहोदर अपराध हो।
यसरी हेर्दा भ्रष्टाचार कहाँ चाहिँ छैन।परियोजनाहरुमा हेर्ने हो भने स्थानीय दलालहरुले स्थानीय किसानको जग्गा सस्तो मूल्यमा किनेर परियोजनालाई महङ्गोमा बेच्नु भ्रष्टाचार हो। कुनैपनि परियोजनाले समाजिक अनिवार्य उत्तरदायित्व वहन नगरी या पुरा नगरी पर्यावरण विगारेर परियोजना सञ्चालन गर्नु भ्रष्टाचार हो। परियोजना सञ्चालनका लागि बैंकबाट ऋण प्राप्त गर्न बैंक कर्मचारीलाई घूस खुवाउनु , उपहार दिनु या विना लगानी हिस्सेदार बनाउनु भ्रष्टाचार हो।घुस खाने र दिने दुवै भ्रष्टाचारी हुन।ठुला परियोजना सञ्चालन अनुमतिका लागि संबन्धित मन्त्रालयका मन्त्रीलाई कमिसन या मन्त्रीका आफन्तलाई अधिकृत पुँजीको हिस्सेदार बनाउनु भ्रष्टाचार हो।अहिले जलस्रोत र ऊर्जा मन्त्रालयमा यो भ्रष्टाचार अभिन्न अंगको रुपमा रहेको छ। परियोजना सञ्चालनमा ठेकेदारहरुमा कार्टेलिङ हुनु भ्रष्टाचार हो ,जस्तो कुनै एक ठेकेदारलाई ठेक्का पार्ने पुर्व सहमति अनुसार अरुले जानी जानी बढी लागत राख्ने,त्यसैगरी आपुर्तिकर्ताहरुको पनि त्यो निश्चित क्षेत्रको परियोजनामा कस्ले आपुर्ति गर्ने भन्ने पुर्व गैरकानुनी सहमति बमोजिम निश्चित व्यक्तिले पाउने गरी बोलपत्रमा अरुले बडी मुल्य राखि पेश गर्नु पनि भ्रष्टाचार हो। यो सबै सेटिङ र कमिशनमा चलेको हुन्छ। त्यसैले पुर्वाधार निर्माणमा समय लम्बिनु,लागतमा वृद्धि भै तोकिएको समयमा काम सम्पन्न नहुनुको साथै कमसल सामाग्रीहरुको प्रयोग यसैको प्रतिरुप हो।
भनिन्छ नेता समाज कै ऐना हो।जस्तो समाज त्यस्तै नेता हुन्छ। नेता भ्रष्टाचारी छ भने बुझ्नुस् समाज पनि भ्रष्टाचारमा लिप्त छ।राजनीतिक भ्रष्टाचार मात्र भ्रष्टाचार,न्यायलयका उच्च पदस्थ पदाधिकारीहरुले गर्ने आर्थिक भ्रष्टाचार मात्र भ्रष्टाचार,कर्मचारी तन्त्र र पुलिसले खाने घुस मात्र भ्रष्टाचार भन्ने बुझाइ मात्र चाहिँ अधुरो छ अपुरो छ।सामान्य गाउँ घरमा खाने पानी नै व्यवस्थित गर्न नसक्नु भ्रष्टाचार हो।एउटा घर ,खलक या टोलले खाने पानीका साथै खाने पानीलाई अन्य उपयोग गरेर लाभ लिने तर त्यही गाउँमा अर्को घर या टोलले सोही पाईपलाईनमा सामान्य पिउनको लागि पनि खानेपानी अभाव हुनु या गाग्रो बोकेर अर्को घर जानु पर्ने स्थिति भ्रष्टाचार हो र यो स्थिति उत्पन्न गराउने पक्ष भ्रष्टाचारी हुन। विकासका लागि आउने बजेटको सही सदुपयोग नगरी निजी लाभको लागि जतापायो त्यतै रोडहरु खन्ने र छोड्ने प्रवृत्ति पनि भ्रष्टाचार हो।यस किसिमको नैतिक दिवालिया पन नै भ्रष्टाचार हो।आफ्नो सामाजिक हैसियत र बर्चश्व को दुरुपयोग गरि आफ्नो र आफ्नाको हित तथा निश्चित स्वार्थ समुहको लाभको लागि गरिने कर्म भ्रष्टाचार हो भने त्यस्ता परपीडक भ्रष्टाचारी नै हुन।कृषिमा सरकारले दिइरहेको अनुदानमा पनि भ्रष्टाचार छ।यो अनुदान व्यापारीले पनि लिइरहेको छ,सरकारी कर्मचारीले पनि लिइरहेका छन,शिक्षकले पनि लिइरहेका छन।यो नैतिक भ्रष्टाचार हो।माछा पोखरीको लागि लिएको अनुदान घर घडेरी किन्न प्रयोग भएको छ,घर बनाउन प्रयोग भएको छ,गरगहना जोड्न र अन्य प्रयोजनको लागि खपत भएको छ।यो नागरिक स्तरमा हुने छलछामपुर्ण भ्रष्टाचार हो।
ढाँट्नु,छल्नु, ठग्नु,धोका दिनु,जस्ता सबै क्रियाकलापहरु भ्रष्टाचारका रङ्गहरु हुन।पतिले पत्नीको विश्वासको दुरुपयोग गर्नु या पत्नीले पतिको विश्वासको अपचलन गर्नु पनि भ्रष्टाचार नै हो।झुठा कागजात पेश गरेर आफ्नो काम फत्ते गर्ने प्रवृत्ति देखि सहयोग र समाजसेवाको नाममा कुनै अमुक व्यक्तिको लागि फर्जी कागजात बनाउन मद्दत गर्नु या अनुवाद गरि झुटो विवरण पेश गरेर कसैलाई फाइदा उपलब्ध गराउनु पनि भ्रष्टाचार नै हो।यस्तो सहयोग गर्ने वहानामा उस्ले तय गर्ने झुटो र अनैतीक कार्यले व्यक्तिलाई भ्रष्टाचारी बनाउँछ।धर्मको नाउँ गरिने व्यापारको साथै परलोक, मोक्ष,पितृ उदार जस्ता प्रपञ्च रचेर दान भेटी को रुपमा लिइने नगद,जमिन,चौपाया या अन्य सामग्रीहरु सबै भ्रष्टाचार नै हुन।
सबैले बुझ्नु पर्ने महत्व पुर्ण एउटा कुरा के छ भने चुनावमा पैसा लिएर भोट हाल्नु र पैसा दिएर भोट किन्नु दुवै कुरा भ्रष्टाचार को दायरामा आउछन।घुस दिनु,जबर्जस्ती चन्दा असुल्नु, ब्ल्याकमेलिङ गर्नु, अनधिकृत रुपमा कसैको सम्पत्ति कब्जा गर्नु, स्विकृती विना कसैको व्यक्तिगत सम्पत्तिको प्रयोग गर्नु,सांसदहरुको किनबेच गर्नु,आफ्ना विरोधीहरुलाई दबाउन सरकारी सम्यन्त्रको दुरुपयोग गर्नु,न्यायधिस द्वारा पक्षपाती निर्णय लिनु, आदि सबै भ्रष्टाचार हो। यसरी हाम्रो समाजमा भ्रष्टाचार मानिसको अभिन्न अंङ्ग को रुपमा विकास भएको छ। कतिपय समाज शास्त्रीहरुले भ्रष्टाचार समाजको अनिवार्य एउटा खराबी हो भनेर पनि व्याख्या गरेको पाइन्छ।नियन्त्रित राज्य व्यवस्थामा अझ बडी भ्रष्टाचार मौलाउछ त्यसैले राज्यले उदार निती अपनाउनु पर्छ भन्नेहरु पनि छन।यो चाहिँ जति धेरै परिक्षण गर्यो उति धेरै कोभिड देखिन्छ त्यसैले जाँच्दै जाँचीएन भने कोभिड नै देखिदैन भने जस्तै हो।एउटा अर्को तर्क के पनि छ भने समाजमा रहेको एउटा उच्च वर्ग र अर्को मध्यम वर्गको वेथिति बाट पनि भ्रष्टाचार उत्पन्न हुन्छ।त्यो कसरी भन्दा उच्च वर्ग आफ्नो हैसियत यथावत राख्न समाजीक र आर्थिक संस्कृतिको हिनामिना गर्छ भने मध्यम वर्ग ले उच्च वर्गले अपनाउने जिवनशैली प्राप्त गर्न विभिन्न अनैतिक आर्थिक र समाजिक हतकण्डा अपनाउँछ जसले भ्रष्टाचारलाई मुख्य माध्यम बन्न सहयोग पुग्छ।
उन्नत समाज निर्माणको लागि भ्रष्टाचार निर्मुल हुनु अत्यावश्यक छ। यसका लागि राजनीति ,प्रशासनिक क्षेत्र र न्याय प्रणालीलाई सुधारको खाँचो छ।विशेष गरी न्याय प्रणाली स्वतन्त्र हुनुपर्छ। भौतिकवादी समाज लाई नैतिकताको पाठ सिकाउनु पनि जरुरी देखिन्छ। समाज रहेका तमाम असमानता,विभेद र थिचोमिचो को अन्त्य हुनुपर्छ। सार्वजनिक संस्थाहरुका आर्थिक र गैर आर्थिक गतिविधिहरु पारदर्शी हुनुपर्छ। ढण्ड हिनताको अन्त्य र काम कार्यवाही छिटो छरितो बनाउनु पर्छ। कर्मचारीहरुको वृत्तिविकास र उचित पारितोषिक को व्यवस्था गरिनु पर्दछ।मुद्रास्फितीलाई नियन्त्रण गरिनु पर्छ।
राजनीतिक साँठगाँठ र माफियातन्त्रको समाप्ति आवश्यक छ।हरेक नागरिक नैतिकवान, चरित्रवान , अनुशासित, सचेत र सभ्य हुनु अत्यन्त जरुरी छ।
प्रकाशित | १३ मंसिर २०७७, शनिबार ०८:५५