नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारी गरिरहँदा वाणिज्य बैंकहरूको संख्या घटाउने उद्देश्यसहित बिग मर्जरको कार्यक्रम आउने विषयले वित्तीय क्षेत्र तरंगित भएको छ । राष्ट्र बैंकले बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग औपचारिक छलफल गरी मर्जरअघि नै जोडी खोज्न निर्देशन दिएपछि बैंकहरूबीच मर्जरको चहलपहलसमेत सुरु भएको छ । नेपालको अर्थतन्त्रको आकारअनुसार बैंकहरूको संख्या बढी भएकाले मर्जरको आवश्यकता भए पनि अहिले राष्ट्र बैंकले दिएको समयसीमा कम भएको बताउँछन् राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ । मर्जर जटिल र प्राविधिक विषय भएकाले पर्याप्त समय दिएमा मात्र राम्रो प्रतिफल आउने उनको भनाइ छ । २०४३ साल भदौमा नेपाल बैंकबाट बैंकिङ करियर सुरु गरेका श्रेष्ठले २८ वर्षे सेवा गर्दै महाप्रबन्धकबाट अवकाश पाए । नेपाल बैंकमै छँदा काजमा गई डेढ वर्ष सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको सिईओका रूपमा समेत नेतृत्व गरे । नेपाल बैंकबाट अवकाश पाएपछि खुला प्रतिस्पर्धाबाट राष्ट्रिय वाणिज्य बैंकको सिईओको जिम्मेवारी सम्हालेका उनले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । आफ्नो कार्यकालको अन्तिम वर्षमा रहेका उनी वाणिज्य बैंकप्रति सर्वसाधारणमा रहेको छवि परिवर्तन गराउनुलाई आफ्नो सफलता ठान्छन् । उनीसँग नेपालको समग्र बैंकिङ अवस्थाका साथै राष्ट्रिय वाणिज्य बैंकको अवस्थाका विषयमा कारोबार दैनीकका लागि यादव हुमागाईंले गर्नुभएको कुराकानी प्रस्तुत गरेका छौ ;-
वाणिज्य बैंकहरूबीच ‘बिग मर्जर’ को चर्चा छ । नेपाल राष्ट्र बैंकले समेत अध्यक्ष र सिईओलाई बोलाएर मर्जरमा जान निर्देशन दिएको सार्वजनिक भएको छ । यसबारे यहाँको विश्लेषण के छ ?
मर्जरको विषय अहिले सबैभन्दा चर्चाको विषय हो । बैंकिङ क्षेत्रमा छलफल भइरहेको विषय पनि यही हो । सैद्धान्तिक रूपमा हेर्दा अर्थतन्त्रको आकारअनुसार वाणिज्य बैंकको संख्या बढी नै छ । हाम्रो अर्थतन्त्रको आकारअनुसार २८ वटा बैंकको संख्या अधिक हो । त्यसैले पनि मर्जरको आवश्यकता देखिएको हो । मर्जरमा जाने विषय सकारात्मक छ । मर्जरबाट बैंकको पुँजी वृद्धि हुन्छ, जसबाट बैंकको क्षमता विकास हुन्छ । बैंकहरूले प्रविधिमा ठूलो खर्च गर्नुपर्ने भएकाले एउटै खर्चले चल्छ । जनशक्ति व्यवस्थापनमा पनि सजिलो हुन्छ । तर, पहिले मर्जरको पक्षमा अझ नीतिगत स्पष्टता भएमा प्रक्रिया अगाडि बढाउन सहज हुन्छ । मर्जर आफैंमा जटिल विषय हो । मर्जरका लागि धेरै काम गर्नुपर्छ । त्यसका लागि निष्कर्षमा पुग्न समय कम भएको लाग्छ ।अहिले मौद्रिक नीति आउने र यसबारेमा छलफल भइरहेको समयमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जरका लागि के–कस्तो व्यवस्था गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल तथा अन्तत्र्रिmया गरी सुझाव लिई त्यसको मोडालिटी, प्रक्रियाबारे छलफल गरी त्यही छलफल र सुझावका आधारमा मौद्रिक नीति आउने र मर्जरका लागि उपयुक्त समय दिँदा मर्जर प्रक्रिया सहज र सफलतापूर्वक सम्पन्न हुन्छ जस्तो लाग्छ ।
छोटो समयमा मर्जरका लागि राष्ट्र बैंक र गभर्नरको सक्रियता देखिनुको कारण के होला ?
बजेट वक्तव्यमा मर्जरको कुरा सांकेतिक रूपमा आएको छ । मर्जरमा जाने संस्थालाई करमा दिने सहुलियतको समय एक वर्ष थप्ने र मर्जरमा प्रोत्साहित गर्ने कुरा भनिएको छ । मर्जर बैंकहरूलाई स्वस्फूर्त रूपमा प्रोत्साहित वातावरण नै आवश्यक छ । मर्जरमा जाँदा सम्बन्धित पक्षलाई यो कुरा फाइदा हुने रहेछ भनेर आकर्षण दिनुपर्छ । अहिले वित्तीय सुदृढीकरणका लागि ठूलो निर्णय गर्न उपयुक्त समय ठानेर प्रक्रियामा तीव्रता आएको हुन सक्छ ।
सरकारले निजी क्षेत्रका बैंकहरूलाई मर्जरमा जाऊ भन्ने तर आफू भने तीनवटा बैंक सञ्चालन गरेको छ । सरकारी बैंकहरूचाहिँ मर्जर हुँदैनन् ?
नेपाल राष्ट्र बैंकले मर्जरमा जाऊ भनेर २८ वटै बैंकलाई भनेको हो । सरकारी बैंक भएकाले हामी बाहेकलाई मात्र भनेको होइन । तर, हामी सरकारी बैंक भएकाले सरकारको स्वामित्व छ । राष्ट्रिय वाणिज्य बैंकमा अधिकांश (९९.९७ प्रतिशत) सरकारी स्वामित्व छ भने नेपाल बैंक र कृषि विकास बैंकमा ५१ प्रतिशत छ । सरकारको स्वामित्व भएकाले सरकारले आफ्नो स्वामित्वमा रहेका बैंकलाई कसरी अगाडि लैजाने भन्ने नीति तय गरेपछि हामीलाई अघि बढ्न सजिलो हुन्छ । सरकारबाटै एक प्रकारको नीतिगत व्यवस्था होला भन्ने हामीले अपेक्षा गरेका छौं । निजी बैंक मर्जरमा जाने, सरकारी बैंक जानै पर्दैन भन्ने होइन । यसका लागि सरकारले निर्णय गरेपछि मात्र हाम्रा लागि बाटो खुला हुन्छ ।
तीनवटा बैंकको व्यवस्थापन तहमा यसबारे छलफल भएको छैन ?
व्यवस्थापकीय तहमा मर्जरबारे तीनवटै बैंकबीच प्रारम्भिक छलफल भएको छ । यसका चुनौती र अवसरहरूका साथै यसका जोखिमहरू के हुन्छन् भन्ने विषयमा छलफल गरेका छौं । बैंकको सेयर संरचना फरक–फरक भएकाले के हुनसक्छ भन्ने विषय पनि छ । तीनवटै बैंकको जनशक्ति र नेटवर्क पनि ठूलो छ । यो जटिलतामा कसरी मर्जरमा जान सकिएला भनेर अनौपचारिक छलफल भने गरेका थियौं ।
वाणिज्य बैंकले सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय किन कार्यान्वयनमा आएन ?
३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णय भएर कार्यान्वयन नभएको अवस्था छ । बाफिया संशोधन भएपछि त्यसमा सरकारले कुनै बैंकलाई पूर्ण सरकारी स्वामित्वमा राख्न सक्ने प्रावधान छ । यसले सरकारी बैंक पनि हुनुपर्छ भन्ने आशय झल्कन्छ । यसले गर्दा सरकारको बैंक नै थोरै भएको अवस्थामा पब्लिकमा जाने उपयुक्त समय हो कि होइन भन्ने छलफलको विषय छ । नजाने निर्णय नभएको र कहिले जाने भनेर तोकिएको छैन ।
केही समयदेखि बैंकिङ क्षेत्रले क्रेडिट क्रन्च, तरलता अभावलगायतका समस्या भोगिरहेको छ । यसको समाधान के होला ?
कर्जाको धेरै माग हुनुको संकेत आर्थिक वृद्धि भइरहेको छ भन्ने पनि हो । तर, कर्जाको माग र विस्तार भएको छ, त्यहीअनुसार निक्षेपको विस्तार भएको छैन । त्यसले गर्दा निक्षेप र कर्जाबीच असन्तुलन हुने नै भयो । असन्तुलन आएपछि बैंकहरूले निक्षेप बढाउन योजनाहरू के हुन् र त्यहीअनुसार कर्जा व्यवस्थापन गर्ने योजना हुनुपथ्र्यो । त्यसमा म्याचिङ हुन सकिरहेको छैन । निक्षेप बढाउन नसक्ने तर कर्जाको मागलाई पनि व्यवस्थापन गर्न नसकिने अवस्था छ ।
यो अवस्थालाई समाधान गर्नका लागि हामीसँग भएको निक्षेपअनुरूप कर्जा प्रवाह गरी व्यवस्थापन गर्नुपर्छ । कर्जा प्रवाह गर्दा पनि उत्पादनमूलक र रोजगारी सिर्जना हुने क्षेत्र बैंकको प्राथमिकतामा पर्नुपर्छ । अनुत्पादक कर्जालाई निरुत्साहित गर्नुपर्छ । यसैगरी आन्तरिक रूपले निक्षेप बढाउने उपायको खोजी गर्नु आवश्यक छ । अझै ४५ प्रतिशत जनतामात्र बैंकिङ पहुँचमा रहेको देखिएको छ । ५५ प्रतिशत जनतामा संस्थागत बैंकिङ पहुँच नै नपुगेकाले उनीहरूसम्म हामी कसरी पुग्ने भन्ने विषयमा हामीले जोड दिनुपर्छ । त्यो भनेको बैंकिङ पहुँच विस्तार गरेर निक्षेप बढाउन सकिन्छ । सरकारको पनि पुँजीगत खर्च गर्ने क्षमता विकास गर्नुपर्छ तर अहिलेको कर्जाको मागलाई आन्तरिक व्यवस्थापनबाट मात्रै पूर्ति गर्न सकिँदैन । त्यसैले कर्जालाई वैदेशिक ऋण वा लगानी भिœयाउन नीतिगत सुधार र पहल जरुरी छ । यसैगरी बैंकिङ च्यानलमा नआएको पैसालाई कसरी बैंकिङ च्यानलमा ल्याउन सकिन्छ भनेर कार्यक्रम आउनुपर्छ । बैंकिङ क्षेत्रबाहिर कारोबार गर्ने प्रवृत्ति हटाउन विभिन्न क्षेत्रमा भएको अभ्यास र प्रयोगहरूको अध्ययन गरी तदनुसार नीतिहरू ल्याउन सकिन्छ ।
राष्ट्र बैंकले वैदेशिक ऋण ल्याउने बाटो खुला गरे पनि प्रभावकारी हुन नसक्नुको कारण के हो ?
यसको प्रक्रिया सरलीकृत गर्नु आवश्यक छ । अर्को पक्ष हाम्रो क्षमता पनि विकास गर्न नसकेकाले गर्दा पनि आवश्यक रूपमा प्रभावकारी हुन सकेको छैन ।
बैंकहरूले अनुत्पादक क्षेत्रमा लगानी गर्दा निक्षेपको स्रोत वृद्धि हुन नसकेको पनि हो नि ?
नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । नत्र जरिवाना हुने व्यवस्था पनि छ । जस्तै १० प्रतिशत कृषि, १५ प्रतिशत ऊर्जा र पर्यटन तथा विपन्न वर्गमा ५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ । यसबाहेकका उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्नाले रोजगारी सिर्जना र निक्षेप वृद्धिमा सहयोग पुग्छ ।
तर यस्ता क्षेत्रमा बैंकहरू जरिवाना तिर्न तयार हुने तर नजाने प्रवृत्ति किन त ?
हामीले बैंकमा नाफा गर्ने हो । तर, नाफामात्रै पनि सबै होइन । सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार सहयोग पनि गर्नुपर्छ । बैंक आर्थिक वृद्धिको संवाहक पनि हो । बैंकहरूले स्वनियममा बसेर चल्नुपर्छ । राष्ट्रिय अर्थतन्त्रको विकासका लागि हाम्रो भूमिका के हो ? कसरी सहयोग गर्न सकिन्छ भन्ने विषय पनि बैंकहरूले सोच्नुपर्छ । कुन क्षेत्र नाफाका लागि राम्रो छ भन्ने दृष्टिकोणबाट मात्र नहेरीकन यो क्षेत्रमा जाँदा बृहद् रूपमा आर्थिक विकासमा सहयोग पुग्छ भन्ने दृष्टिकोणले पनि काम गर्नुपर्छ । अहिले सर्वसाधारणबाट पनि बैंक नाफामुखी मात्र भए भनेर आरोप आउनुको एउटा कारण पनि यही हो ।
बैंकरहरू नाफामुखीमात्र भएको हो ?
बैंकहरू नाफामुखीमात्र भएको चाहिँ होइन । यसबारेमा नियामक निकायले निश्चित मापदण्ड तय गरी मूल्यांकन गरिरहेको हुन्छ । तर, यो विषयमा हामीले जुन तहको सोच र दृष्टिकोण राख्नुपथ्र्यो त्योचाहिँ अलि कमी भएको हो कि भन्ने लाग्छ ।
कतिपय बैंक उत्पादनमूलक क्षेत्र जस्तै सहुलियतपूर्ण कर्जामा लगानी गर्न जोखिम बढी भएको भन्दै पन्छिने गरेका छन् नि ?
कर्जा लगानी सधै जोखिमसँगै जोडिएको हुन्छ । त्यसलाई कसरी न्यूनीकरण र व्यवस्थापन गर्ने भन्ने काम बैंकको हो । अहिले राष्ट्र बैंकले ल्याएको सहुलियतपूर्ण कर्जामा जोखिम न्यूनीकरणका उपाय पनि राखिएको छ । कर्जा सुरक्षण कोषमा सुरक्षण गर्ने र बैंकहरूले नाफाका रूपमा आधार ब्याजदरमा २ प्रतिशत थप्ने व्यवस्था गरेको छ । लगानी हुने परियोजनाको बिमा गर्ने पनि भनिएको छ । यसले कर्जाको जोखिम न्यूनीकरण गर्छ ।
सहूलियतपूर्ण कर्जा कार्यक्रममा आधारदरमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण हुने र त्यसमा सरकारले पुरुषलाई ५ र महिलालाई ६ प्रतिशत अनुदान दिने व्यवस्था छ । यो ब्याजदर निर्धारण प्रक्रियाले जुन बैंकको बेसरेट कम छ, त्यहाँ कर्जा सस्तो हुने भएकाले ग्राहकहरूको चाप बढी हुने अवस्था छ । यसैगरी सरकारले सञ्चालन गरेका केही कार्यक्रममा ऋण नतिर्नेलाई केही समयपछि मिनाहा गर्ने प्रवृत्तिले पनि ऋण नउठ्ने हो कि भन्ने आशंका छ । यस्तै कतिपय मानिसमा ऋण लिएर व्यवसाय सञ्चालन गर्ने भन्दा पनि सस्तोमा पाएकाले ऋण लिनेमात्र मानसिकता देखिएकाले पनि समस्या हुने गरेको छ ।
सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा दुरुपयोग हुने गरेको आरोप पनि छ नि ?
केही व्यक्ति व्यावसायिक उद्देश्य लिई काम गर्छु भनेर आएका छन् । केही सहुलियतपूर्ण कर्जा पाइन्छ भनेर गलत नियतबाट पनि आएको पाइन्छ । तर, हामीले आवश्यक छानबिन गरेर वास्तविक परियोजना सञ्चालन गर्ने ग्राहकलाई मात्र ऋण दिइरहेको स्थिति छ । हामीले सहुलियतपूर्ण कर्जा हेर्नका लागि छुट्टै विभाग बनाएका छौं । कमिटीले छलफल गरेर मात्र ऋण स्वीकृत हुन्छ । त्यसैले दुरुपयोग हुने सम्भावना धेरै कम छ ।
कर्जा दिनका लागि राजनीतिक दबाब पनि आउँछ होला नि ?
कसैले दबाब दिँदैमा कर्जा दिनैपर्छ भन्ने छैन । कहिलेकाहीँ मेरो जिल्ला वा ठाउँमा यस्तो परियोजना छ त्यसलाई प्राथमिकता दिनोस् भन्ने अनुरोध भने आउँछ ।
वाणिज्य बैंकको चालू आर्थिक वर्षको प्रगति कस्तो रह्यो ?
जेठसम्मको समीक्षा गर्दा हामीले यो आर्थिक वर्षमा राखेका लक्ष्यहरू शतप्रतिशत पूरा गर्न सक्ने अवस्थामा छौं । कर्जा, निक्षेप र नाफामा लक्ष्य प्राप्त गर्छौं । अहिले हामी बैंकहरूमध्ये नाफामा एक नम्बर छौं । यसपालि पनि राम्रो ४ अर्ब हाराहारीमा नाफा गर्ने लक्ष्य राखेका छौं । सन्तोष मान्ने स्थितिमा छौं ।
बैंकका योजना के छन् ?
वाणिज्य बैंकको आफ्नै अस्तित्व र पहिचान छ । अब यसलाई बजारको माग र आवश्यकताअनुसार आधुनिक प्रविधिमा आधारित प्रतिस्पर्धी सेवा दिन हामी प्रयासरत छौं । अहिले आगामी आवको बजेट बनाउने क्रममा छौं । त्यसमा दुई–तीनवटा विषयलाई एकदमै प्राथमिकतामा राखेका छौं । व्यापार विस्तारको अवस्था सन्तोषजनक छ, तर त्यतिले मात्र पुग्दैन । अब यसको गुणस्तरमा ध्यान दिन्छौं । हामीले दिने सेवा प्रविधिमा आधारित गुणस्तरीय र राम्रो बनाउन लागिरहेका छौं । यसका लागि आधुनिक प्रविधिको प्रयोग गर्छौं । नेपाल टेलिकमसँग मिलेर भुक्तानी प्रणाली सञ्चालन गर्ने योजना अघि बढेको छ । अब छिट्टै हामीकहाँ ७०-८० हजार प्रतिस्पर्धीहरूबाट छानिएर ६ सय ६१ जना नयाँ पुस्ताका जनशक्ति आउँदैछन् । यसले वाणिज्य बैंकका कर्मचारी र यसको सेवाप्रति सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्न सक्ने र बैंकप्रतिको धारणा परिवर्तन गर्नसक्छ भन्ने विश्वास छ । प्रतिस्पर्धाबाट छानिएका व्यक्तिहरू आएपछि बैंकमा परिवर्तन अनुभव गर्न पाउनुहुन्छ ।
मैले बैंकमा आउँदा पेस गरेका वित्तीय लक्ष्यहरूभन्दा धेरै माथि छु । त्यसमा भन्दा पनि वाणिज्य बैंकमा परिवर्तन भएको महसुस गराउन सके आफ्नो सफलता मान्छु । त्यसैले म बैंकको छवि सुधारको अभियानमा छु । वाणिज्य बैंक सरकारी संस्थान भए पनि निजी क्षेत्रको बैंकसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने देखाउन चाहन्छौं । नयाँ जनशक्ति र आधुनिक प्रविधिलाई फ्युजन गर्दै आधुनिक सेवा प्रदान गछौं ।
प्रकाशित | २५ असार २०७६, बुधबार ०९:४६