अमेरिकाका ३० शहरमा हिंसात्मक प्रदर्शन, कोरोनाको सन्त्राससँगै जनजीवन अस्तब्यस्त

काठमाडाैं /एजेन्सी

एक अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्युको घटनालाई लिएर अमेरिकामा आन्दोलन चर्किएको छ । प्रहरीले सडकमा पक्राउ गर्ने क्रममा उनको घाँटी थिचेको भिडियो बाहिर आएपछि अफ्रिकी मूलका अमेरिकीहरु आक्रोशित भएका हुन् ।

प्रहरीले अश्वेत व्यक्तिको हत्या गरेको भन्दै अमेरिकाको न्युयोर्कदेखि लस एन्जलससम्म प्रदर्शन भएको छ । अमेरिकाका करिब ३० वटा सहरमा प्रदर्शन फैलिएको छ भने केही स्थानमा आगजनी र लुटपाट समेत मच्चिएको छ ।

फ्लोइडको मृत्युलाई लिएर मिनिपोलिसबाट सुरु भएको प्रदर्शन अन्य शहरमा फैलिँदा कोरोनाको सन्त्राससँगै जनजीवन अस्तब्यस्त बनेको छ ।  ८ मिनेटभन्दा लामो समय प्रहरीले फ्लोइडको घाँटी थिचेको भिडियो बाहिर आएको थियो ।

उनको मृत्यु लामो समय घाँटी थिचेका कारण भएको अस्पतालले जनाएको छ । अश्वेत फ्लोइडले एक पसलमा नक्कली बिन प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो ।

उनको मृत्युलाई लिएर भएको प्रदर्शनमा मास्कसमेत नलगाई र सामाजिक दूरी कायम नगरी ठूलो संख्यामा मानिसहरु भेला भएका कारण स्वास्थ्य विशेषज्ञहरूले समेत चिन्ता जनाएका छन् ।

अमेरिकामा कोरोना नियन्त्रणका लागि लामो समयदेखि रहेको लकडाउन खुलाएर आर्थिक गतिविधि पुनः सुरु गर्ने तयारी भइरहँदा यो घटना बाहिर आएको हो ।

फिलाडेल्फियामा शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिँदा कम्तीमा १३ जना घाइते भएका छन् भने करिब चारवटा प्रहरीका सवारी साधनमा क्षति पुगेको छ ।

ओक्लाहामामा ग्रीनवुड डिस्ट्रिक्ट अफ टुल्सामा प्रदर्शनकारीले बाटो अवरुद्ध गर्दै सन् २०१६ मा प्रहरीको हातबाट मारिएका अश्वेत टेरेन्स क्रचरको नाममा नाराबाजी गरेका थिए ।

प्रदर्शन बढ्दै जाँदा प्रहरीले लाठी चार्ज गर्नुका साथै रबरका गोली समेत प्रहार गरेको छ । अमेरिकाका १२ भन्दा बढी शहरमा निषेधाज्ञा जारी गरिएको छ भने एट्लान्टा, डेनवर, लस एन्जलस, सिएटल र मिनिपोलिसका सडकमा मानिसहरुलाई नजान आग्रह गरिएको छ ।

बिहीबारदेखि सुरु भएको प्रदर्शनका क्रममा हालसम्म १७ शहरमा १ हजार ४ सयभन्दा बढी पक्राउ परेका छन् ।


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार १५:४३