जापान रोजगार अनिश्चित

काठमाडौं: आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन। संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो।

जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन। जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याउन थालेको छ। भियतनाम र फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार लैजाने जापानको पछिल्लो रणनीति छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा तुलसी सुवेदीले लेख्नुभएको छ ।

जपानले पहिलो चरणमा नेपाललगायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने कामदारलाई नै प्राथमिकता दिने योजना अघि सारेको छ। उनीहरूलाई वर्किङमा सिफ्ट गरेर अवसर दिने जापानको योजना छ।  जपानले १४ क्षेत्रमा रोजगारी खुला गरेको छ।

कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा काम गर्नुपर्नेछ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०८:४३