पर्यटकीय पूर्वाधारमा सरोकारवालाको चासो

भक्तपुर : भक्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएपनि पर्याप्त लगानी नहुँदा पर्यटन व्यवसाय फष्टाउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पर्यटन पुर्वाधार निर्माण र प्रचार प्रसारकालागि सरकारी र निजी दुवै क्षेत्र उदासीन बन्दा पर्यटन व्यवसाय धरासयी बनेको निचोड समेत निकालेका छन् ।

राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) भक्तपुरले नगरकोटमा भएको ‘भक्तपुरको पर्यटन विकासका सम्भावना, अवसर र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले भक्तपुरको पर्यटन प्रवद्र्धनकालागि पर्यटकीय क्षेत्रको पहिचान, गुरुयोजना निर्माण, पुर्वाधार विकास र प्रचार प्रसारमा लगानी कम भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर प्रदेश तीनकै मुख्य गन्तव्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश तीनमै थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु छन्, तिनको एकिकृत विकास गरेर भक्तपुरसँगै प्रदेश तीनकै पर्यटन विकासकालागि हामीले सोच्नुपर्ने बेला भएको छ ।’ उहाँले संघीयता कार्यान्वयनसँगै साना पुर्वाधार निर्माणमा जुटेका स्थानीय तहहरुबीचमै आपसी द्धन्द्ध सिर्जना हुँदा पर्यटन क्षेत्रमा लगानी कमजोर बन्दै गएको बताउनुभयो ।

भक्तपुर, काभ्रे र काठमाडौँको सीमास्थित नगरकोट, डोलेश्वर धाम, भक्तपुर दरबार स्क्वायर लगायत यहाँका सांस्कृतिक सम्पदाहरु आदि भक्तपुरका उल्लेख्य सम्भावना रहेका पर्यटकीय क्षेत्र भएको बताउनुभयो ।  चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफुले चाहँदा–चाहँदै पनि नगर क्षेत्रको पर्यटन विकासमा काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्व सम्पदास्थल चाँगुनारायण मन्दिर हामीसँगै छ, नगरकोट लगायत दर्जनौँ सम्भावित ठाउँहरु छन्, केही योजनाहरु पनि बनेका छन्, तर तत्कालै भनेजसरी काम गर्न नसकिने रहेछ ।’ उहाँले नगरकोटमा ३६ वर्षदेखि पर्यटक आगमन भइरहेको भन्दै अहिलेसम्म हिमालको दृश्य र यहाँका मनोरम प्रकृतिबाहेक हेर्नलायक अर्को केहीपनि संरचना निर्माण हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

‘नगरकोट देशविदेशमा चर्चित छ, यहाँ पर्यटक पनि आउँछन्, तर यो एक राते गन्तव्यमात्रै बनेको छ, जसले गर्दा हामीलाई धेरै फाइदा हुनसकेको छैन,’ उहाँले भन्नुभयो । सरकारी लगानीबाट पर्यटकलाई रमाएर अल्मिलिन सक्ने बातावरण सिर्जनागर्न नगरपालिकाले पहल गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले नगरकोटमा पर्यटकीय बसपार्क निर्माण, भ्यु–टावर, फुट ट्रेल निर्माण, पर्याप्त खानेपानी, व्यवस्थित फन पार्क र गार्डेनहरु निर्माण गर्ने योजनाहरु नगरपालिकाले बनाएको बताउनुभयो । ‘यहाँ १८ वर्षदेखि भ्यु–टावर निर्माणको सपना देख्ने मान्छे म नै हुँ, संयोगले मेयर पनि भएँ, तर अहिलेसम्म बनाउन सकेको छैन,’ मेयर मिश्रले भन्नुभयो । उहाँले चाँगुनारायणदेखि लाकुरी भञ्ज्याङसम्म जंगल नै जंगल पदमार्ग विकासको काम समेत प्रक्रियामा अघि बढेको बताउनुभयो । नगर क्षेत्रका भैरव महादेव मन्दिर, नौ पोखरी पुनर्निर्माण लगायत काम समेत योजनामा रहेका उनले बताए । ‘नगरपालिकासँग पर्यटकीय गुरुयोजना छैन, तर साना ठूला थुप्रै योजनाहरु भने छन्, तुरुन्तै पुरा गर्न नसकिएको सत्य हो,’ उहाँले भन्नुभयो । मेयर मिश्रले भक्तपुरमा सबैभन्दा बढी पर्यटक आगमन हुने भक्तपुर नगरपालिकाले समेत भक्तपुरमै अन्यत्र पनि थुपै सम्भावना भएका ठाउँहरु छन् भनेर नभन्ने गरेको गुनासो गर्नुभयो । उहाँले अन्तर नगर सहकार्यको वातावरण नहुँदा आफुहरुलाई थप घाटा पुगेको बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरकोट क्षेत्रमा आफुले देखेदेखि अहिलेसम्म सरकारी क्षेत्रबाट पुर्वाधार निर्माणमा ठोस् काम नभएको तिखो अनुभूति सुबताउनुभयो । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितराम लामाले सरकारले नेपालमा पर्यटन क्षेत्रमा उल्लेख्य सम्भावना भएपनि सरकारले तिनको पहिचान गरेर लगानी गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्थानीय समाजसेवीसमेत रहेका राप्रपा संयुक्तका नेता रविन्द्रप्रताप शाहले नगरकोट पर्यटकका लागि विश्वमै प्रख्यात रहेपनि पछिल्लो समय सडकको दुरावस्था, स्थानीय उतपादन र प्याकेज बनाउँनेतर्फ ध्यान नदिदा एक रात बसेर फर्किने स्थानका रुपमा परिणत भएको बताउनुभयो ।

आयोजक राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरका अध्यक्ष पेशलकुृमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा भक्तपुरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सरकारी कार्यालय कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, सामाजिक संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी गरी ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम चाँगुनारायण, मध्यपुर र सुर्यविनायक नगरपालिका तथा सन्दिपवनी सामुदायिक कलेजको सहयोग तथा गैरसरकारी संस्था महासंघ नेपालसँगको सहकार्यमा भएको राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरले गरेको उपाध्यक्ष जनक गिरीले बताउनुभयो ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार २०:५७