सूर्यविनायक नगरपालिकाको पलासेमा बृहत एकिकृत घुम्ती शिविर: हजारौ भए लाभान्वित

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाले पलासेको काठमाडौं फन भ्यालीमा बृहत एकीकृत घुम्ती शिवीर आयोजना गरेको छ । घुम्ती शिवीरसँगै नगरपालिकाले निशुल्क स्वास्थ्य परिक्षण तथा जिल्ला स्थित सबै सरकारी कार्यालयहरुको एकिकृत सार्वजनिक सुनुवाइसमेत सम्पन्न गरिएको छ । सूर्यविनायक नगरपालिकाका वडा नं ९ र १० का नगरबासीहरुलाई मध्यनजर गदै आयोजना गरिएको कार्यक्रममा हजारौको संख्यामा सर्वसाधारणले स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

सूर्यविनायक नगरपालिकाले गाउँ गाउँ मै सरकार पुर्याउने उदेश्यले आयोजना गरेको बृहत एकिकृत घुम्ती शिविर तथा निःशुल्क स्वास्थ्य शिविरमा हजारौ स्थानीय सेवाग्राहीको भीड लागेको हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० का नागरिकहरुलाई गाउँ मै पुगेर सेवा दिने उदेश्यले पलाँसेमा आयोजना भएका शिविरमा सरकारी सेवातर्फ नागरिकता वितरण, अपाङ्ग परिचय पत्र वितरण, मतदाता नामावली संकलन, जेष्ठ नागरिक परिचयपत्र लगायत जिल्ला प्रशासन कार्यालय, नगरपालिका र अन्य सरकारी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु शिविर मार्फत उपलब्ध गराएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

शिविरमा धानको बिऊँ वितरण, माटो परीक्षण तथा बाली उपचार सेवा, मौसमी तरकारी बिउ बिजन एवं विरुवा वितरण, कृषि प्रविधि प्रसारण, व्यवसाय तथा घरेलु उद्योग दर्ता, पशु सेवा तर्फ नाम्ले जुका औषधि वितरण, गोबर जाँच, पशु स्वास्थ्य शिविर एवं परामर्श, पशु विमा तथा व्यवसाय लगायतको सेवा प्रदान गरिएको छ । प्रतिव्यक्ति दुईकिलो धानको बिऊ निःशुल्क वितरण गरेको र धानको बिऊ लिन स्थानीयको भीड लागेको थियो ।

परिवार नियोजन संघ काठमाण्डौं जडिबुटी शाखाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण र परामर्श संचालन गरेको थियो भने स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले शिविरमा स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखारोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि रोग, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा बृहत सिकाइ अन्तर्गत विपद् जोखिम न्यूनीकरण, सहकारी सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्राप्त सेवा, सार्वजनिक सुनुवाई, विभिन्न सरकारी तथा स्थानीय उत्पादन सामाग्रीहरुको प्रदर्शनी तथा बृहत साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ०९:२२