नगरकोट: चाँगुनारायण नगरपालिकाको आयोजनामा मनाउन लागिएको नगरकोट भ्रमण बर्ष २०८२ सफल बनाउन काभ्रेका मण्डन देउपुर, बनेपा र काठमाडौंको शंखरापुर नगरपालिकाले सामूहिक रुपमा सहकार्य गर्ने भएका छन् । नगरकोट काठमाडौं, भक्तपुर र काभ्रेका तीन जिल्लाको चार नगरपालिकाको संगमस्थलको रुपमा रहेको छ ।

चाँगुनारायण नगरपालिकामा २०७९ सालमा जीवन खत्री नेतृत्वमा नयाँ जनप्रतिनिधि निर्वाचीत भएपछि बसेको पहिलो कार्यपालिका बैठक र नगर सभाबाट नगरकोट भ्रमण वर्ष मनाउने निर्णय गरि तयारी तीव्र पारिएसँगै अन्य तीन वटा नगरपालिकाले पनि सामूहिक रुपमा सहकार्य गरि आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

चाँगुनारायण नगरपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड प्रबद्र्धक तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा बुधबार नगरकोटमा भएको अन्तरनगरपालिका र होटल ब्यवसायीसहित सञ्चारकर्मीहरुसँग भएको छलफल कार्यक्रममा तीन नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरुले नगरकोट भ्रमण वर्ष सफल बनाउन संयुक्त रुपमा सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन।

छलफलमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्ष मनाउनुको उद्देश्य र हालसम्म गरिएको तयारीका बारेमा स्पष्ट पार्नुभएको थियो । नगरकोटको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्र र सरोकारवालाहरु जागरुक भएर लाग्नुपर्ने आवश्यकता रहेको मेयर खत्रीले बताउनुभयो ।

समग्र चाँगुनारायणको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई प्रचार प्रसार गरि पर्यटन मार्फत नगरलाई समृद्ध बनाउन भ्रमण वर्ष आयोजना गरिएको र सोही अनुसार भ्रमण वर्ष अवधिभर गरिने कार्यक्रमको रुपरेखा तयार गरिएको बताउनुभयो ।

उहाँले चाँगुनारायण नगरपालिकाले भक्तपुर जिल्लाका सरोकारवाला निकायदेखि सबै पक्षहरुसँग छलफल गरि कार्यपत्र तयार पारिएको र सचिवालयमार्फत अन्तिम गृहकार्यमा जुटेको बताउनुहुँदै अन्तरनगरस्तरीय कार्यक्रमलाई समेटेर अन्तिम रुप दिई संयुक्त कार्यक्रम सार्वजनीक गर्ने उद्देश्यले पनि छलफल कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।

चाँगुनारायण नगरपालिकामा आफू निर्वाचीत भएपछिको पहिलो निर्णय नै नगरकोट भ्रमण वर्ष मनाउने भएकाले सोहीअनुसारको ब्यापक तयारी गरिएको र भौतीक पूर्वाधार निर्माण कार्य पनि अगाडि बढाइरहेको बताउनुभयो ।

भ्रमण वर्षको लागि चुनौती बनेको नगरकोट कमलविनायक सडक पनि नगरपालिका आफैले १७ करोडको स्रोत सुनिश्चित गरि ठेक्का आह्वान गरिसकिएको जानकारी गराउनुभयो । नगरपालिकाले अन्य बजेटलाई कटौती गरेर भए पनि नगरकोट सडकलाई प्राथमिकतामा राखेर सडक निर्माणमा छुट्याइएको बताउनुहुँदै असार सम्म सडक निर्माण गरिसक्ने योजना रहेको पनि मेयर खत्रीले बताउनुभयो ।

वरिष्ठ पर्यटन ब्यवसायी तथा नगरकोट भ्रमण वर्ष २०८२ का सल्लाहकार योगेन्द्रमान शाक्यले नगरकोट भ्रमण वर्ष मनाउँदा त्यसको सबैभन्दा बढी लाभ ब्यवसायीहरुलाई नै हुने बताउनुभयो । चाँगुनारायण नगरपालिकाले नगरकोटको पर्यटन प्रबद्र्धनसँगै समग्र नगरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिनु अत्यन्त सराहनीय कार्य भएको बताउनुहुँदै त्यसका लागि गर्नुपर्ने जस्तोसुकै सहयोग गर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले भ्रमण वर्ष फलदायी बनाउन नेपाल पर्यटन बोर्डले नगरकोट भ्रमण वर्ष २०८२ बारे व्यापक प्रचार प्रसार गर्न थालेको उल्लेख गर्दै स्थानीय उत्पादन र कथालाई प्रभावकारी रुपले भ्रमण वर्षमा पस्किनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाईबाले नगरकोट भ्रमण वर्ष मनाउने सामूहिक प्रतिबद्धतालाई कार्यान्वयन गर्न नगरपालिका तयार रहेको बताउनुहुँदै चाँगुनारायणको अग्रसरता सराहनीय भएको बताउनुभयो । उहाँले सबैले अपनत्व महसुस गर्ने गरि नगरकोट भ्रमण वर्ष मनाउन आवश्यक रहेकोमा जोड दिनुहुँदै त्यसका लागि सबै पक्षले आआफ्नो ठाउँबाट लाग्नुपर्ने र चाँगुनारायणको आयोजनामा हुने भ्रमण वर्ष सफल बनाउन सहकार्य तथा समन्वयनका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बनेपाका नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले नगरकोट भ्रमण वर्ष सफल बनाउन सबै पक्षको उत्तिकै दायित्व भएको बताउनुभयो । उहाँले चाँगुनारायणले अगाडि सारेको कार्यक्रममा सहयोग गर्दै सामूहिक रुपमा अगाडि बढ्ने बताउनुभयो ।

शंखरापुर नगरपालिकाका नगर उपप्रमुख समिता श्रेष्ठले नगरकोटको पर्यटन प्रबद्र्धन गर्दै त्यसमार्फत नगरबासीको आर्थिक समृद्धि गर्ने योजना अत्यन्तै सराहनीय भएको बताउनुभयो । उहाँले चाँगुनारायणको आयोजनामा हुने नगरकोट भ्रमण वर्ष सफल बनाउन सहकार्य गरि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नगरकोट भ्रमण वर्ष २०८२ का फोकल पर्सन तथा विज्ञ डा. घनश्याम खतिवडाले नगरकोट भ्रमण वर्षको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले पर्यटकीय क्षेत्र नगरकोटलाई अझ ब्यवस्थित बनाउन आवश्यक रहेको बताउनुहुँदै नगरकोट भ्रमण वर्ष २०८२ ले पर्यटन ब्यवसायीमा ठूलो आसा जगाएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारसहित सञ्चारकर्मीहरुले नगरकोट भ्रमण वर्षलाई उपलब्धीमूलक बनाउन गर्नुपर्ने विविध तयारी एवं सुधार्नुपर्ने विषयहरुमा सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, प्रशासन अधिकृत सुरज पौडेल, नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्री, वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामा, वडा नंं ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, वडा नंं ९ का वडाध्यक्ष गणेश त्यात, वास शाखा प्रमुख सुरेन्द्र लामिछाने, पर्यटन शाखा प्रमुख सन्तोषी नेपालीसहित विभिन्न शाखा प्रमुखहरु र अन्य नगरपालिकाका जनप्रतिनिधि, पर्यटन ब्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित | १ चैत्र २०८१, शनिबार १०:३२