काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्ने धारणा राख्नुभयो ।

नेता सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमाथि कटाक्ष गर्दै नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने दावी गर्नुभयो । जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने उल्लेख गर्दै ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ । पार्टी सानो छ, तर पटक -पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ ।’


प्रकाशित | १९ कार्तिक २०७८, शुक्रबार १३:५१