भक्तपुर: चाँगुनारायण नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता उपत्यकाकै उत्कृष्ठ बनेको छ । देशभरमै पहिलो पटक विधागत रुपमा खेल प्रशिक्षक नियुक्त गरि निःशुल्क खेल प्रशिक्षण दिएर ‘एक घर, एक खेलाडी उत्पादन’ गर्ने लक्ष्य अनुरुप अगाडि बढेको नगरपालिकाले यो वर्ष आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता उपत्यकाकै उत्कृष्ठ रुपमा आयोजना गरेको हो ।
राष्ट्रपति रनिङ शिल्डमा ६ वटा विधामा खेल खेलाउनुपर्ने मापदण्ड भए पनि नगरपालिकाले यो वर्ष १० वटा विधामा प्रतिस्पर्धा गराएको हो । अघिल्लो वर्ष ६ वटा विधामा मात्र खेल खेलाइने गरिन्थ्यो । यो वर्ष ४ वटा खेल विधा थपिएसँगै विगतका वर्षहरुमा भन्दा खेलाडीहरुको सहभागिता उत्साहजनक मात्र नभई पालिकामै उदाहरणीय बन्न सफल भएको हो ।
प्रतियोगितामा भलिबल, कवड्डी, उसु, कराते, एथलेटिक्स, तेक्वान्दो, फुटसल, क्योकुसिन कराते, क्रिकेट, ब्याडमिन्टन खेल खेलाइएको थियो । यो वर्ष क्योकुसिन कराते, फुटसल, ब्याडमिन्टन, क्रिकेट विधा थप गरिएको हो । पहिलो पटक थप गरिएको विधामा पनि खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगितामा श्रीकृष्ण माध्यमिक विद्यालयले यो वर्ष पनि सबैभन्दा बढी पदक प्राप्त गर्दै उपाधि जित्न सफल भयो । श्रीकृष्णले २० स्वर्ण, १३ रजत, ९ कास्य गरि ४२ पदक प्राप्त गर्दै उपाधि हात पारेको हो । श्रीकृष्णले यसअघि पनि लगातार उपाधि हात पार्दै आएको छ । अघिल्लो वर्ष श्रीकृष्णले ३६ पदक प्राप्त गरेको थियो ।
प्रतियोगितामा प्रज्ञा इंगलिस स्कुलले ७ स्वर्ण, ८ रजत र ९ कास्य गरि २४ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने महेन्द्र ग्राम विद्यालयले ६ स्वर्ण, ८ रजत र १३ कास्य गरि २७ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
नगरपालिकाको प्रागणमा बिहीबार आयोजित एक समारोहका बीच समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रतियोगितामा विजेता विद्यालय र खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कार प्रदान गरिएको थियो । उपाधि हात पार्न सफल विद्यालयलाई नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले पुरस्कार वितरण गर्नुभएको थियो भने अन्य विभिन्न विधाका विजेताहरुलाई प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र खेल प्रशिक्षकले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोतिामा नगरभित्रका संस्थागत र सामुदायिक गरि ३९ विद्यालयका १ हजार ७५० खेलाडी सहभागि थिए । समापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख खत्रीले नगरपालिकाले खेलमैत्री नगर बनाउन खेलाडीको लागि खेल सामाग्रीका साथै आवश्यक पूर्वाधार निर्माणमा लागिपरेको बताउनुभयो ।
मेयर खत्रीले नगरपालिकामा खेलकुद क्षेत्रको विकासमा गरिएको लगानीले विस्तारै प्रतिफल पाउँन थालेको बताउनुहुँदै त्यसका लागि विद्यालय, शिक्षक, खेल प्रशिक्षकदेखि सबै सरोकारावाला निकायहरुप्रति आभार प्रकट गर्नुभयो ।
सबैको सहयोगमा मात्र खेल क्षेत्रमा सुधार र प्रगती गर्न सफल भएको भन्दै आगामी दिनमा अझ बढी विकास गर्न सदैव साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।
नगर उपप्रमुख रमेश बुढाथोकीले पछिल्लो समय नगरपालिकाले खेल क्षेत्रमा धेरै सुधार गर्दै लगेको बताउनुभयो । खेलकुद क्षेत्रमा विगतमा भन्दा धेरै प्रगती भए पनि अझै खेल पूर्वाधारको विकास गर्न भने बाँकि रहेकाले सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले नगरपालिकामा सबैको सामूहिक प्रयासले चाँगुनारायणले खेल क्षेत्रमा फड्को मार्न सफल भएको बताउनुभयो ।
नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरि निशुल्क खेल प्रशिक्षण संचालन गर्दै खेल प्रशिक्षक नियुक्त गरेर आवश्यक खेल पूर्वाधार निर्माण गर्ने कार्य अगाडि बढाइरहेको पनि वडाध्यक्ष खड्काले बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका संयोजक राजु थापा, चाँगुनारायण नगरस्तरीय खेलकुद विकास समितिका संयोजक रघु केसीले प्रतियोगितामा रहेको उत्साहजनक सहभागिताले सबैलाई उत्साहित बनाएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस चाँगुनारायण नगर उपसभापति दिनेश गिरी, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष नरेश खडका, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रोशन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रमेश अधिकारी, नेपाल मजदुर किसान पाटीका नगर प्रतिनिधि सन्त बहादुर दुलाललगायत राजनीतिक दलका प्रतिनिधिहरुले नगरपालिकाले खेल क्षेत्रमा गरेको प्रगति र भइरहेको गतिविधिको खुलेर प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनेश अर्याल, वडा नंं १ वडाध्यक्ष सिजन कार्की, २ का वडाध्यक्ष सोम प्रधान, ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, ५ वडाध्यक्ष जयन्द्र खडका, ६ का वडाध्यक्ष धन बहादुर लामा, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, ८ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक जनक खत्री, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायतको सहभागिता थियो ।
कार्यक्रममा गुरुकुल विद्या मन्दिर, कालिका माध्यमिक विद्यालय र आजाद माध्यमिक विद्यालयका विद्यार्थीहरुबाट नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम शिक्षा शाखाका अनुपा लामिछाने र रञ्जना सापकोटाले संयुक्त रुपमा संचालन गर्नु भएको थियो ।
प्रकाशित | ७ पुष २०८१, आईतवार १६:३२