एमसीसी संसदमा टेबल गर्न दिने निर्णय भएको छैन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता संसदमा टेवल गर्न दिने वा नदिने कुनै निर्णय नभएको बताउनु भएको छ । शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसिसीको विषयमा कुनै निर्णय नगरेको खनालले बताउनु भयो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीकी मन्त्री समेत रहेकी सचिव रामकुमारी झाँक्री र उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमसिसी संसदमा टेवल गर्न दिने तर पासन गर्न नदिने निर्णय भएको बताउनु भएको थियो ।  तर नेता खनालले भने टेबल गर्न दिने निर्णय नभएको भन्दै त्यसको खण्डन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज बसेको स्थायी कमिटी बैठकको ठोस निर्णय भनेकै एमसीसी सम्झौता विना संशोधन स्वीकार नगर्ने भन्ने हो । एक मतले यथास्थितिमा एमसीसी नस्वीकार्ने भन्ने नै हो, टेबल गर्न दिने नदिने आदि केही पनि निर्णय भएकै छैन ।

बैठकले संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीले एमसीसी सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनै निर्णय नगरेको दाबी गर्नुभयो । उहाँले त्यसबाहेकका प्रक्रिया र निर्णयका बारेमा गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर जाने निर्णय भएको बताउनुभयो ।


प्रकाशित | ७ फाल्गुन २०७८, शनिबार १९:२४