मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ : सभापति देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयकले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको स्पष्ट भएको बताउनुभएको छ । सो विधेयकलाई प्रेस स्वतन्त्रता माथिको ‘कू’ को संज्ञा दिदैं सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गर्नुभयो ।

आइतबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति देउवाले सरकार अधिनायकको बाटो तर्फ अघिबढेको भन्दै मिडिया काउन्सील सम्बन्धी विधेयकलाई फिर्ता गराइछाड्ने बाउनुभयो ।। पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार लोकतान्त्रिक मूल्य मान्यता स्वीकार्न तयार नभएको र अधिनायकवादी शासन लाद्न खोजीरहेको बताउनुभयो ।

विधेयकमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने उल्लेख गरिएको छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ ।

त्यस्तै, कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियता, विभिन्न संघीय एकाइ, जातजाति, धर्म वा सम्प्रदाय, राज्यद्रोह वा अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहन गर्नेजस्ता काम गरे उक्त जरिवाना वा कैद सजाय हुने प्रस्ताव विधेयकमा छ । ‘दफा ‘क’ बमोजिमको कसुर गरेमा कसुरको मात्रा हेरी ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म जरिवाना वा १० वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ विधेयकको दफा ५९ मा उल्लेख छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १८:५७