एनआरएनको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने अध्यक्षका प्रत्यासी श्रेष्ठको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले नेपालमा वैदेशिक लगानी भित्राउन ठोस नीतिगत पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले गैर आवासीय नेपाली संघको परिकल्पना अनुरुप दिगो विकास र समुन्नत नेपालको सपना साकार पार्न गैर आवासीय नेपालीहरुले विेदशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजी नेपाल भित्रयाउन एक उच्चस्तरीय संयन्त्र बनाएर ठोस कार्य योजनासहित काम गरिने नीति लिनु भएको छ ।

गैर आवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले शूरु गरिएको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गरिने श्रेष्ठको प्रतिबद्धता छ । जन्मभूमिको विकासका लागि योगदान गर्न चाहने सबै गैर आवासीय नेपालीहरु समेट्ने उद्देश्यले सो कोषमा न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गरिने उल्लेख छ ।

‘गैर आवासीय नेपालीहरुको लगानी सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेको श्रमिकहरुलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानूनहरुलाई समयानुकूल परिमार्जित तथा संशोधन गर्दै गैर आवासीय नेपालीको लगानीलाई समेट्न नेपालको धितोपत्र विनियम बजारमा प्रवेश गराउने पहल गरिनेछ’, प्रतिबद्धतामा पत्र भनीएको छ ।

त्यस्तै, गैर आवासीय नेपालीको लगानी र साझेदारीमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन तथा वैदेशिक लगानी आर्कषित गर्न नेपाल सरकारसँग सहकार्य गरिने र वैदेशिक लगानीलाई प्रोत्साहित गर्न आवश्यकताअनुसार दोहोरो कर छुट बारे आवश्यक नीतिगत ब्यवस्था गर्न ठोस पहल गरिने नीति पनि समावेश गरिएको छ ।

नेपालको प्रमुख आर्थिक स्रोत रेमिट्यान्सलाई वैधानीक माध्यमबाट पठाउन प्रोत्साहित गर्ने कार्यक्रम सरकारसँगको सहकार्यमा लागू गरिने, वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि सरकार एवं निजी क्षेत्रसँग सहकार्य गरिने प्रतिबद्धता छ ।

त्यस्तैगरि, श्रमिकले पठाएको रमेट्यिान्स सटही गर्दा प्राप्त हुने कमिशनको निश्चित रकम प्रति डलर १ पैसा श्रमिक कल्याणकारी कोषमा राख्न पहल गरिने र यस विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट बैकसँग छलफल गरी कार्यान्वयनका लागि प्रयास गरिने श्रेष्ठले प्रतिबद्धतापत्रमा उल्लेख गर्नु भएको छ ।

सामाजिक सुरक्षा कोष, डलर खाता, आइपिओको कार्यान्वनयको लागि एनसिसी माफृत प्रचार प्रसार तथा प्रशिक्षणको ब्यवस्था गरिनेछ, श्रेष्ठले प्रतिबद्धतापत्रमा उल्लेख गर्नु भएको छ ।


प्रकाशित | ३१ भाद्र २०८०, आईतवार २०:०६