भक्तपुर: चाँगुनारायण नगरपालिकामा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान शूरु गरिएको छ । वन उपभोक्ता महासंघ भक्तपुरले चाँगुनारायण नगरपालिकाको सभाहलमा आइतबार वन उपभोक्ता समितिका प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम आयोजना गर्दै अभियान शूरु गरिएको हो । अभियानको नगर प्रमुख जीवन खत्रीले औपचारिक रुपमा शूरु गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख खत्रीले वनमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन उपभोक्ताहरु नै बढी सचेत र चलाखो हुनुपर्र्नेमा जोड दिनुभयो । मेयर खत्रीले वन उपभोक्ता समिति र उपभोक्ताहरुले वन जंगल संरक्षण गर्न महत्वपूर्ण योगदान गरेको भन्दै यसको रेखदेख र संरक्षण गरेजस्तै वनमा डढेलो लाग्न नदिन पनि आवश्यक सावधानी अपनाउनुपर्ने बताउनुभयो । ।
वन उपभोक्ता समितिलाई कुनै समस्या र अप्ठ्यारो परेमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउँदै उहाँले वन डढेलो नियन्त्रण गर्नका लागि नगरभित्र सञ्जाल खडा गरेर तयारी अवस्थामा राखिएको बताउनुभयो । साथै उहाँले आफूले बुझेको जानेको कुरा गाउँ घरमा पुर्याउन सबै उपभोक्ता समितिका प्रतिनिधिहरुमा आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले वन जंगल संरक्षण गर्न आवश्यक कानून निर्माण गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामेश्वर बोहरा, जिल्ला उपभोक्ता महासंघ भक्तपुर अध्यक्ष पार्वती श्रेष्ठ नगरकोटीलगायत पदाधिकारी तथा सदस्यहरुले वन डढेलो नियन्त्रणका लागि महासंघले गरिरहेको र गर्दै आइरहेको कार्य बारेमा जानकारी गराउनु भएको थियो ।
जिल्ला वन कार्यालय भक्तपुरका अनुसार गत चैत र बैशाख महिनाको हालसम्म मात्र जिल्लाका १४ वटा ठाउँमा डढलो लागेकोमा सबै ठाउँको नियन्त्रणमा आइसकेको छ । डढेलोका कारण २४ दशमलव ६ हेक्टर क्षेत्रफलमा नोक्सान पुगेको छ भने ५ सय १० वटा विरुवामा क्षति पुगेको छ ।
कार्यक्रममा लामो समयदेखि सामुदायिक वनमा क्रियाशील भई वन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको वन विज्ञ सुभाष चन्द्र देवकोटाले वन डढेलो नियन्त्रणका लागि गर्नुपर्ने काम र अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिनु भएको थियो । डढेलो सुख्या सिजन विशेष गरि चैत बैशाखमा मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गरेको छ । अध्ययनका अनुसार डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको विज्ञहरू बताउँछन् ।
नेपालमा वनजङ्गलमा डढेलो लगाउनेलाई कारबाही हुने कानूनी व्यवस्था छ। वन ऐन, २०७६ मा राष्ट्रिय वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
प्रकाशित | १६ बैशाख २०८१, आईतवार २०:२७