सूर्यविनायकमा स्वीस प्रोजेक्ट अन्तर्गत सञ्चालीत ‘ब्यवसाय विकास सहयोग कार्यक्रम’को समापन, निजी क्षेत्रको उत्थान तथा विकासमा सहयोग पुगेको विश्वास

भक्तपुर: स्वीस प्रोजेक्ट अन्तर्गत सूर्यविनायक नगरपालिकाभित्र सञ्चालन गरिएको २० ब्यवसायीको ब्यवसाय विकास सहयोग कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरपालिकाले मंगलबार आयोजीत एक कार्यक्रमकाबीच एकीकृत स्थानीय विकासका लागि स्तरोन्ति अन्तर्गत ब्यवसाय विकास सहयोग कार्यक्रम समापन गरिएको हो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन प्रोग्राम एसडीसीको सहयोगमा वान टु वाच र सूर्यविनायक नगरपालिकाले संयुक्त रुपमा उक्त कार्यक्रम संचालन गरिएको थियो । गत जुलाई १५ सम्म आवेदन दिएका आवेदकहरू मध्ये चयन गरिएका २० व्यवसायहरूलाई व्यवसाय विकासका लागि सहयोग कार्यक्रम सञ्चालन गरिएको थियो ।

र्मगलबार आयोजित समापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले नगरपालिका आयमूलक, ब्यवसायीमूलक र रोजगारीमूलक क्षेत्रको विकासमा लागिपरेको र सोही अनुरुप यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नगर प्रमुख थापाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

नगरपालिकाले निजी क्षेत्रसँग पनि सहकार्य गरेर ब्यवसायीक प्रबद्र्धनमा जोड दिइरहेको बताउँदै स्वीस सरकारको सहयोगमा नगरपालिकाका ब्यवसायीलाई बलियो र सक्षम बनाउका लागि यो कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।

नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. डेनियल मेउलीले कार्यक्रमले निजी क्षेत्रको उत्थान तथा विकासमा सहयोग पुगेको विश्वास ब्यक्त गर्नुभयो । राजदूत मेउलीले नेपालमा रहेका निजी क्षेत्रको विकासका लागी स्विस सरकार लागिपरेको समेत बताउनुभयो ।

उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले वान टू वाचको प्रोपोजलमा ६ महिना अध्ययन गरेर निश्कर्ष निकालेपछि कार्यक्रम अगाडि बढाइएको जानकारी गराउनुहुँदै कार्यक्रम सञ्चालन भएपछि ब्यवसायीको क्षमता अभिबृद्धिका साथै ब्यवसाय प्रबद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

उपप्रमुख भट्टराईले पहिलो चरणमा पाईलोट प्रोजेक्टको रुपमा अगाडि बढाउन सफल भएको र थप प्रोजेक्टको लागि सहयोग मिले सञ्चालन गर्न तयार रहेको बताउनुभयो ।

प्रवक्ता रविन्द्र सापकोटाले ब्यवसायीको क्षमता अभिबृद्धि गर्न र नयाँ नयाँ प्रविधि तथा सिप सिकाउने कार्यमा यो कार्यक्रम निकै नै उपलब्धीमूलक भएको बताउनुभयो ।

वान टू वाचका प्रबन्धक निर्देशक विश्व गिरीले कार्यक्रम स्थानीय ब्यवसायलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्ने उद्देश्यले शूरु गरिएको कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले नगरभित्र दर्ता भएर काम गरेका ७ हजार ब्यवसायमध्ये १ सय ८ जनाको आवेदन परेको र आवेदन परेकामध्येबाट २० वटा उत्कृष्ठ ब्यवसाय छनौट गरेर कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा सूचना प्रविधि अधिकृत तथा सौरव नेपालले कर्यक्रमको प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो ।

त्यस्तै, कार्यक्रममा ब्यवसायीहरुले आआफ्नो अनुभव सुनाउनु भएको थियो भने प्यानलवाईज समेत छलफल गरिएको थियो । सोही अवसरमा राजदूत मेउलीसहितको प्रतिनिधिमण्डलले २० ब्यवसायीले उत्पादन गरेका स्थानीय उत्पादनहरुको स्टल समेत अवलोकन गर्नु भएको थियो ।

 

 


प्रकाशित | २७ चैत्र २०८०, मंगलवार २२:४२