एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र दिगो बनाउन महासचिवमा पुन: उम्मेदवारी: गौरीराज जोशी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुन महासचिवमै उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ । जोशीले संस्थालाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउनका लागि महासचिव पदमै पुन उम्मेदवारी घोषणा गरेको बताउनु भएको हो ।

सञ्चारकर्मीसँगको कुराकानीमा जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर आफूले गरेको कामलाई अझ बढी प्रभावकारी र ब्यवस्थित बनाउन लागिपर्ने बताउनुभयो । विशेष गरि स्मार्ट एनआरएन अवधारण ल्याएर धेरै काम गरेको उहाँको भनाई छ ।

‘संस्थालाई विवादबाट मुक्त बनाउनु अहिलेको आवश्यकता, चुनावी अवधिको ६० दिन बाहेक सदस्य सधै खोल्ने ब्यवस्था गर्नुपर्ने,  श्रमीकहरुको सुरक्षाको सवालमा पनि धेरै काम गर्नुपर्ने चुनौती’

जोशीले १० औं महाधिवेशनमा देखिएका डेलिगेट्स सिस्टमका समस्यालाई पनि विस्तारै समाधान गर्दै आएको बताउँदै आफूले एनआरएन अभियानको क्रममा थुप्रै च्यारिटीको काम गरेको स्पष्ट पार्नुभयो । ‘मोबाइल ब्लड बैंक बस परियोजनाको शूरुवात देखि सातै वटा प्रदेशमा पुर्याउने योजना अनुसार काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘संघले अगाडि सारेका १० अर्ब लगानी कोषमा पनि भूमीका निर्वाह गर्दै आएको छु ।’

१० औ महाधिवेशनमा देखिएका चुनौती क्रमीक रुपमा सुधार गर्दै आए पनि डेलिगेट्स सिस्टम नयाँ चुनौतीको रुपमा आएको बताउनुभयो । ‘डेलिगेट्स सिस्टमलाई सदाको लागि समाधान गर्नुपर्ने देखिन्छ’, उहाँले भन्नुभयो, ‘एनसिसीबाट आएको सल्लाह सुझाव र अभियन्ताबाट आएको सल्लाह अनुसार डेलिगेट्स सिस्टमलाई पुर्नसंरचना गर्नुपर्ने आश्यकता छ ।’ चुनावी अवधिको ६० दिन बाहेक सदस्य सधै खोल्ने ब्यवस्था गर्नुपर्ने जोशीको भनाई छ ।

संस्थालाई विवादबाट मुक्त बनाउनु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘गैर आवासीय नेपालीहरुको लगानीलाई सुनीश्चित गर्नका लागि १० प्रतिशतमा लगानी गर्न दिने कुरा छ । त्यसलाई पारदर्शी र लगानीमा प्रतिफल हुने खालका परियोजनामा फोकस गर्ने कुरामा ध्यान दिन जरुरी छ’, उहाँले भन्नुभयो ।

श्रमीकहरुको सुरक्षाको सवालमा पनि धेरै काम गर्नुपर्ने चुनौती रहेको जोशीले बताउनुभयो । निर्वाचनमा विजयी भएमा यी र यस्तै कुरामा भूमीका खेल्न र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई देशको समृद्धिमा लगाउन सहयोगी बन्ने पनि उहाँले बताउनुभयो ।


प्रकाशित | १६ आश्विन २०८०, मंगलवार २१:०६