एनआरएनए इंग्ल्यान्डको निवर्तमान र नयाँ समितिबीच बुझबुझारथ

लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको नवनिर्वाचित र निवर्तमान कार्यसमितिहरुबीचको बुझबुझारथ तथा हिसाबकिताब हस्तान्तरण भएको छ । लन्डनको बार्किङस्थित ‘द स्पटेड डग पब एन्ड रेष्टुरेन्ट’ मा आयोजित एक कार्यक्रमबीच दुई समितिबीच हिसावकिताव बुझबुझारथ गरिएको हो ।

इंग्ल्यान्ड राज्य समन्वय परिषदको निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक श्रेष्ठले संस्थाका सम्पूर्ण हिसाबकिताब र खातापाता नयाँ समितिको तर्फबाट नवनिर्वाचित अध्यक्ष एलबिजेड गुरुङलाई हस्तान्तरण गर्नु भयो । दुवैले बुझबुझारथ पत्रमा हस्ताक्षर समेत गर्नु भयो ।

निवर्तमान समितिका अध्यक्ष श्रेष्ठले नयाँ समितिलाई बधाई ज्ञापनका साथ शुभकामना दिनु भयो । परिषदका संस्थापक अध्यक्ष समेत रहनु भएको श्रेष्ठले आफू नेतृत्वको पहिलो कार्यकालमा संस्थाको जग बसाउन हरसम्भव प्रयास गरिएको बताउनु भयो ।

कार्यक्रममा वर्तमान अध्यक्ष गुरुङले संस्थापक समितिका तर्फबाट भएको सम्पूर्ण योगदानका लागि निवर्तमान कार्यसमिति र अध्यक्ष दीपक श्रेष्ठप्रति आभार प्रकट गर्दै इंग्ल्यान्ड राज्य समन्वय परिषदले एनआरएनए यूकेलाई ग्रासरुटसम्म पुर्‍याउने माध्यमका रुपमा काम गर्ने बताउनु भयो ।

सो अवसरमा परिषदका निवर्तमान समितिका कोषाध्यक्ष ध्रुवहरि बाँस्कोटाले हिसाबकिताबसम्बन्धि जानकारी प्रस्तुत गर्नु भएको थियो भने दुई वर्षे कार्यकालमा भएका गतिविधि र कार्यक्रमहरुबारे निवर्तमान समितिका सचिव गोविन्द खरेल र सहसचिव कृष्ण वैधले जानकारी गराउनु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा वर्तमान कार्यसमिति सहसचिव अहिल्या कुँवर, प्रवक्ता डा विशाल गुरुङ, सदस्य बलराम सुवेदीसहितका पदाधिकारीहरु, हङकङ नेपाली मञ्च यूकेका सचिव अर्जुन शाही, व्यवसायी सुजन श्रेष्ठ, अमन गुरुङ लगायतको उपस्थिति थियो भने कोषाध्यक्ष सचिन भट्टराई, लगायतका पदाधिकारी भर्चुअल माध्यमबाट सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २३ कार्तिक २०७८, मंगलवार १६:५८