भक्तपुरमा ‘औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु, चाँगुनारायणका मेयर खत्रीद्धारा उद्घाटन

भक्तपुर : आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीबारबाट सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख खत्रीले भक्तपुरका सबै स्थानीय उत्पादनलाई बजारीकरण गर्दै सबै उपभोक्तामा गुणस्तरीय र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मेला सफलताको शुभकामना दिनुभयो । महोत्सव भक्तपुरलाई चिनाउने उपयुक्त माध्यम हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले मेलाबाट भक्तपुरबासीले भरपुर उपयोग गर्नेमा आफू ढुक्का रहेको बताउनुभयो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजनामा शूरु भएको महोत्सव ११ दिनसम्म चल्नेछ । औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतलका अनुसार बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम समेत गरिनेछ ।

मेला आयोजक समितिका संयोजक दीपक थापाका अनुसार “कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहेका छन् । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल पनि छन् ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधारणलाई भने रु ७० को टिकट लाग्नेछ । करिब ५ लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

 


प्रकाशित | २२ चैत्र २०८०, बिहीबार २०:०९