संसद विघटन गर्ने सरकारको कदम स्वागतयोग्य : नारायणमान बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई स्वागत गर्नुभएको छ । सरकारको सिफारिसमा संसद विघटन भएसँगै बिजुक्छेले सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्णयको स्वागत गर्नुभएको हो ।

”सरकारले देशलाई अप्ठ्यारो परेको सूचना पाएपछि गरेको निर्णय स्वागतयोग्य छ, यसलाई नेमिकपा स्वभावीक रुपमा लिन्छ र समर्थन गर्छ,” बिजुक्छेले भन्नुभयो ।

बिजुक्छेंले सत्तारुढ दल नेकपाभित्रैको प्रधानमन्त्रीइत्तर समूहबाट भएका गलत माग र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको अकर्मण्य भूमिकाको कारण प्रधानमन्त्रीबाट चालिएको कदमलाई स्वाभाविक मान्न सकिने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीमार्फत सत्तारुढ दलकै विपक्षी खेमाबाट अपराधीलाई आममाफी दिलाउने, भ्रष्टाचारी, कालाबजारी र भगुवा ठेकेदारहरूलाई पखाल्नेजस्ता माग ते¥साएर सरकारलाई काम गर्न नदिने अवस्था सिर्जना हुँदा यस्तो कदम चालिएको हुन सक्ने बताउनुभयो ।

उहाँले सरकारलाई काम गर्न नदिएको, संविधानमा धेरै दोष भएको, एउटै दलमा दुई जना अध्यक्षको बन्दोबस्तलाई निर्वाचन आयोगले मान्यता दिएको, राष्ट्रपति वा प्रधानमन्त्रीलाई देशको शान्ति–सुरक्षा र बन्दोबस्त गर्ने विशेष अधिकार हुनुपर्ने जस्ता कारणले संसद विघटनको परिस्थिति बनेको प्रष्ट पार्नुभयो ।

“भ्रष्टाचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्नुपर्ने र भगुवा ठेकेदारलाई नै काम गर्न दिनुपर्ने जस्ता विषयमा नेकपाभित्र विवाद हुने गरेको थियो । त्यसको अर्थ सरकारलाई काम गर्न नदिइको हुँदा संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको कदम स्वाभाविक हो”, बिजुक्छेले भन्नुभयो “विगतमा भएका संसद विघटनका घटनालाई जस्तै अहिलेको यो घटनालाई पनि त्यही रूपमा हेरिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको विरोध गर्नेहरूले संविधानले निर्धारण गरेका कुनै पनि प्रक्रियाभित्र प्रवेश नगरी एउटै विकल्पको ढोका खुला राखेर काम गर्न नदिएको हुँदा संसद विघटनको कदम औचित्यपूर्ण भएको बिजुक्छेंको भनाई थियो । “कानुन र संविधानले मिल्ने–नमिल्ने कुराको व्याख्या गर्ने अधिकार अदालतलाई छोडिनुपर्छ । देशलाई लामो समय अन्योलको स्थितिमा राख्न नमिल्ने भएकोले प्रधानमन्त्रीको कदम औचित्यपूर्ण छ”, उहाँले भन्नुभयो । संसद विघटन भए पछि प्रधानमन्त्रीलाई नियन्त्रणमा लिन खोज्नेहरूको योजना असफल भएको हुँदा उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न आरोप लगाउनु स्वाभाविक भएको विजुक्छेंको भनाई थियो ।

“प्रधानमन्त्रीलाई यो कदम चाल्न उनका विरोधीहरूले बाध्य पारेका हुन् । मेरो विचारमा उनीहरू भारतबाट सञ्चालित छन्”, उहाँले भन्नुभयो । एउटै मेचलाई दुवैतिरबाट तान्न लगाउँदा मेच भाँचिनु स्वाभाविक भएको उहाँको भनाई थियो । “कमजोर व्यक्तिले त्यस्तो अवस्थामा छोड्थ्यो । नभए परिस्थितिको सामना गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

बिजुक्छेंले पार्टीको अध्यक्ष नै प्रधानमन्त्री हुने विश्वभरको संसदीय अभ्यास भएको चर्चा गर्दै तीमध्ये कुनै एउटा पद छोड्नु ठीक नहुने र दुई जना अध्यक्ष बनाउने व्यवस्थालाई निर्वाचन आयोगले स्वीकार्न नहुने धारणा राख्नुभयो । प्रधानमन्त्रीका विरोधीहरूले लिएको बाटोअनुसारकै प्रधानमन्त्रीले पनि बाटो लिएको उहाँले बताउनुभयो । संसद विघटनले देशलाई निकास दिने बिजुक्छेंको भनाई थियो ।

सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरे अन्य जटिलता आउने बिजुक्छेंले बताउनुभयो । प्रधानमन्त्रीको आइतबारको कदम एकै दिनमा नभएको र पूर्वतयारी सहित भएको हुन सक्ने उहाँले प्रष्ट पार्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलले राम्रो भूमिका खेलेको भए संसदभित्र यो मुद्दा जाने थियो भन्दै नेकाले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको बताउनुभयो ।

“प्रमुख प्रतिपक्ष दलले सत्तापक्षको भाग खाएको हुँदा उसले आफ्नो राजनीतिक भूमिका खेल्न सकेन”, बिजुक्छेंको भनाई थियो । राष्ट्रपतिको भूमिका ‘खोपाको देवता’ (समारोही) हुँदा प्रधानमन्त्रीको सिफारिस अनुमोदनमा राष्ट्रपतिलाई दोष दिन नमिल्ने उहाँले बताउनुभयो ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १७:२९