अधूरा योजना पूरा गर्न सक्रियतापूर्वक लागिपरेका छौ: नगर प्रमुख, बासुदेव थापा

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नगरका अधूरा योजना पूरा गर्न सक्रियापूर्वक लागिपरेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नंं १ को पकाण्डोल चरखण्डी खोलामा कन्भर्ट निर्माणको शुक्रबार शिलान्यास गर्नुहुँदै नगर प्रमुख थापाले पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरु आफ्नो दोस्रो कार्यकालमा क्रमश पूरा हुँदै गएको बताउनुभयो ।

राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्धता भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको स्पष्ट पार्नुहुँदै नगर प्रमुख थापाले हरेक निर्णयहरु सर्बसम्मत गर्दै नगरबासीको समृद्धिमा अगाडि बढिरहेको बताउनुभयो ।

नगरको विकासका लागि जनप्रतिनिधिहरु एकजुट भएर लागिपरेको बताउँदै उहाँले नगरबासीको साथ, सहयोग र सल्लाह सुझावको सधै खाँचो रहेको बताउनुभयो । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, उपभोक्ता समितिका पदाधिकारी र स्थानीयको सहभागिता थियो ।


प्रकाशित | २५ फाल्गुन २०८०, शुक्रबार २०:०४