घर नक्सा पास अनलाइनबाटै हुने , फाइल बोक्दै हिड्नु पर्ने झन्झटको अन्त्य

नवलपुर । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो ।अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताउनुभयो ।

सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउन घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रियाले प्रभावकारी भूमिका खेल्ने नगरप्रमुख पुनले बताउनुभयो । घर नक्सा पास अनलाइनबाटै हुने भएपछि घर नक्सा पास गर्न आउने सेवाग्राहीले फाइल बोक्दै हिड्नु पर्ने झन्झटको अन्त्य भएको भन्दै इन्जिनियर भट्टराईले अब सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएको समेत थाहा पाउनेसमेत जानकारी दिनुभयो।

 

 


प्रकाशित | २९ पुष २०७८, बिहीबार १५:२५