एनआरएनए युवा उपाध्यक्षका उम्मेदवार रोशन थापा बने साझा उम्मेदवार

काठमाडौ:  गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा उम्मेदवारी दिएका रोशन थापा दुई प्यानलको रोजाइमा पर्नु भएको छ । अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र डा. बद्री केसीले आफ्नो टीममा राख्नु भएको छ ।

थापा डा. केसीको टीममा सुरुदेखि नै पर्नु भएको थियो । मंगलबार श्रेष्ठ प्यानलले पनि उहाँलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो। एनआरएनए वृत्तमा छोटो समयमै लोकप्रियता कमाएका व्यक्ति थापा हुनुहुन्छ ।

सन् २०२१–२३ कार्यकालमा थापा युवा उपाध्यक्ष नै हुनुहुन्थ्यो । युवा उपाध्यक्ष रहँदा उहाँले प्रभावकारी काम गरेर दोस्रो पुस्ताको मन जित्नु भएको थियो । सरल र शान्त स्वभावका थापाको मध्यपूर्व क्षेत्रमा पनि बलियो प्रभाव छ।

लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाउनु भएको थापा अनुभवी र नेतृत्वको सम्भावना बोकेका एनआरएनए अभियन्ता मानीनुहुन्छ। २ दशकअघि अध्ययनका लागि इलामबाट जापान पुग्नु भएको थापाले अहिले आफूलाई सफल व्यवासायीमात्रै होइन, गैरआवासीय नेपालमाझ आफूलाई जबर्जस्त उभ्याउन सफल हुनु भएको छ।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गर्नु भएको छ । उहाँअटो मोबाइल र रियल स्टेट व्यवसायी हुनुहुन्छ। थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गर्नु भएको छ । नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ। थापासँग यसअघि एनआरएनए ताम्जिानियाको दुई कार्यकाल नेतृत्व गरेको अनुभव पनि छ।


प्रकाशित | १ कार्तिक २०८०, बुधबार १२:५१