सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता छ : महेश श्रेष्ठ

लन्डन: गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भएको छ ।

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले संस्था अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको औल्याउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले कार्यक्रमकै अवसरमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुहुँदै एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले विस्तृत एजेन्डा सहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी गराउनुभयो ।

देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफुले रणनीतिक योजना बनाएको पनि बताउनुभयो । ‘हामीले निर्वाचित भएको दिनदेखि नै क्यालेन्डर बनाएर एक्शन ओरिएन्टेड योजना कार्यान्वयन गर्ने छौं,” उहाँले थप्दै भन्नुभयो ।

संघका महासचिव डा केशव पौडेलले आफु अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदम पछाडी हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो । उहाँले सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गर्दै संघलाई एकजुट गरेर अगाडी बढाउन सक्ने उम्मेदवार महेश श्रेष्ठलाई आफुले अध्यक्ष पदमा समर्थन गरेको घोषणा गर्नुभयो ।


प्रकाशित | ४ भाद्र २०८०, सोमबार १९:४३