एनआरएनए निर्वाचन: डा. केशव पौडेलले गरे अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई समर्थन

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा महेश श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको छ । आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको हो ।

नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार को बन्ने चर्चा भइरहेको बेला डा. केशव पौडेलले श्रेष्ठलाई समर्थन गरेपछि एकल उम्मेदवार बन्नु भएको हो । डा. पौडेल भने उपाध्यक्षमा जाने तयारी गरिरहनु भएको छ ।

एनआरएनएको वर्तमान उपाध्यक्ष रहनु भएको श्रेष्ठ लामो सयमदेखि क्रियाशिल रहँदै आउनु भएको छ । संस्थामा महत्वपूर्ण योगदान गर्दै आउनु भएको श्रेष्ठले यसअघिको कार्यकालमा कोषाध्यक्ष रहँदा संस्थामा आर्थिक पारदर्शीता कायम गर्नेदेखि आर्थिक रुपमा बलियो बनाउन विशेष योगदान पुर्याउनु भएको थियो । श्रेष्ठले गैर आवासीय नेपाली संघको हरेक निर्वाचनमा लोकप्रिय मत समेत प्राप्त गर्दै आउनु भएको छ ।

श्रेष्ठले अन्य पदमा भने छलफल जारी रहेको बताउनुभयो । बाँकि पदमा सबैलाई समेटेर लैजाने र राम्रो टिम बनाउने गृहकार्य भइरहेको श्रेष्ठको भनाई छ । एनआरएनएको निर्वाचनमा अध्यक्ष पदका लागि श्रेष्ठसहित राजेन्द्र कुमार शर्माले खुलेरै प्रचार प्रसार गरिरहनु भएको छ भने डा. बद्री केसी, रविना थापालगायतले पनि निर्वाचनमा लड्ने चर्चा छ ।

त्यस्तै, महासचिवमा वर्तमान महासचिव गौरीराज जोशी, गंगाधर गौतम, पारसमणी पोखरेल र बुद्धि सुवेदीले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।


प्रकाशित | १ भाद्र २०८०, शुक्रबार २०:३९