बंगलादेशले किन किन्दैन नेपाली धागो ?

काठमाडौं : तयारी पोशाक (गार्मेन्ट) उद्योगमा छोटो समयमै फड्को मारेको नेपालको छिमेकी देश बंगलादेशले कपडाको प्रमुख कच्चा पदार्थ धागो भने नेपाली बजारबाट आयात गर्दैन । नेपाली धागो तुलनात्मक रुपमा सस्तो भए पनि बंगलादेशले आयातमा रुचि नदेखाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ । बंगलादेशसँग नेपालको व्यापारघाटा बर्सेनि बढिरहेको तथा उक्त मुलुकका उत्पादन नेपालमा निर्वाध भित्रिरहे पनि नेपाली उत्पादन आयातमा भने उसले अनेकौं बहाना देखाउँदै आएको छ ।

नेपालमा पर्याप्त धागो उत्पादन भइरहेको र थप उत्पादनका लागि व्यवसायीसमेत तयार भइरहेको अवस्थामा बंगलादेशले आयातमा रुचि नदेखाउँदा लगानी बढाउन निजी क्षेत्र डराइरहेको छ । हालैमात्र भएको नेपाल–बंगलादेश व्यापार वार्तामा नेपाली पक्षले धागो निकासीका लागि प्रस्ताव गरे पनि बंगलादेशी पक्षले आलटाल गर्दै आएको थियो । धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान पनि बंगलादेशले औपचारिकताका लागि मात्रै धागो निर्यात खोलेको भए पनि व्यावहारिक बन्न नसकेको बताए । “एक वर्षको अवधिमा बंगालादेशमा स्थलमार्गबाट एक किलो पनि आगो निर्यात भएको छैन,” अध्यक्ष गोल्यान भन्छन्, “धागो निर्यातमा नेपालको उच्च सम्भावना छ, यदि अवसर पाउने हो भने हामीले ५ अर्बभन्दा धेरैको निर्यात गर्न सक्छौं ।” बंगालदेशसंग धागो निर्यात गर्न अन्य देशको निकासी कटौती गर्न नपर्ने भन्दै क्षमता बढाउन पनि व्यवसायीहरु तयार रहेको उनले बताएका छन् । यो समाचार सरस्वती ढकालले कारोबार दैनीकमा लेखेकी छिन् ।

यसै महिनाको पहिलो साता भएको नेपाल–बंगलादेशबीच द्विपक्षीय व्यापार वार्तामा धागो निर्यात प्राथमिकतामा थियो । सहसचिवस्तरीय वार्तामा दुई देशबीच व्यापारसँग सम्वन्धित २३ एजेण्डामा छलफल भएको थियो । बंगलादेशसँग विद्युत् व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारीसाधन, बन्दरगाह प्रयोग, धागो निकासीलगायत २३ विषयमा छलफल भएको थियो । धागो निर्यातलाई प्राथमिकता राखेर बैठक गरिएपनि हालसम्म कुनै प्रत्रिया अगाडि नबढेको उनले बताए ।

बंगलादेशले बंगलाबन्ध मार्गबाट नेपालको एक्रेलिक धागो मात्रै निकासीको अनुमति दिएको हो । एक्रेलिक धागो मात्रै निकासीको सुविधाले नेपाली उद्योगलाई कुनै फाइदा नहुने व्यवसायी बताउँछन् । एक्रेलिक धागोको माग बंगलादेशमा अत्यन्तै न्यून छ । भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्नको माग बंगलादेशमा उच्च छ । नेपालले टर्की, भारत, वेलायत, युरोपियन मुलुक, ल्याटिन अमेरिका लगायतका देशमा धागो निर्यात गर्दै आएको छ । नेपालबाट निर्यात हुने व्यापारमा धागो अग्र स्थानामा छ । गत आर्थिक वर्ष २०७५÷७६ मा ८ अर्ब रुपैंया बराबरको धागो निर्यात भएको थियो ।

रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशीकान्त अग्रवालले नेपालबाट धागो निर्यातको उच्च संभावना भएपनि बंगलादेशले रोक लगाएको बताउँछन् । बंगालादेशले गरेको धागो प्रतिवन्ध साफ्टा, सार्कस्तरीय व्यापारको पक्षमा नभएको भन्दै उच्चस्तरीय छलफलबाट भए पनि यसको टुंगो लगाउनुपर्नेमा जोड दिए । देशमा व्यापारघाटा बढिरहेका वेला निर्यातको संभावना भएको क्षेत्र सम्भावना हुँदाहुँदै छायाँमा परेको उनको अनुभव छ ।

चालू वर्षमा १० अर्ब रुपैयाँ बराबरको धागो निर्यात हुने अध्यक्ष गोल्यानले बताए । निरन्तर निर्यात भइरहेको धागो सन् २००२ पछि बंगलादेशमा भने निर्यात ठप्प छ । नेपालमा निजीस्तरका रिलायन्स, त्रिवेणी, जगदम्बा र जया स्पिनिङ मिल्स गरी चारवटा धागो उद्योग सञ्चालनमा छन् । सरकारी स्वामित्वको बुटवल धागो उद्योग भने बन्द छ । धागो उत्पादक संघका अनुसार चालू अवस्थाका चार उद्योगको कुल पुँजी करिब १५ अर्ब रुपैयाँ छ । यी उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १० हजारलाई रोजगारी दिएको छ । धागो उद्योगहरूको कुल वार्षिक क्षमता ५९ हजार मेट्रिकटन रहे पनि ३८ हजार मात्र उत्पादन भइरहेको संघले जनाएको छ । यी उद्योगले पोलिस्टर, भिस्कस, एक्रेलिक, सिन्थेटिक लगायत धागो उत्पादन गर्छन् ।


प्रकाशित | २८ कार्तिक २०७६, बिहीबार ११:०१