आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन चाँगुनारायण नगरभित्रका विद्यालय सात दिनसम्म बन्द गर्न सकिने

भक्तपुर: आँखा पाक्ने रोगको सक्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले नगरभित्रका विद्यालय सात दिन बन्द गर्ने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको बैठकले आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन नगरभित्रका विद्यालय सात दिनसम्म बन्द गर्न सकिने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख बीर बहादुर खडकाले विद्यालयका शिक्षक, विद्यार्थीको आँखा पाक्ने रोगको संक्रमणको अवस्थालाई विश्लेषण गरी आफ्नो विद्यालयको परिवेश अनुसार अधिकतम ७ दिन विद्यालयको पठनपाठन स्थगन गर्न सकिने निर्णय गरेको जानकारी गराउनुभयो । शाखा प्रमुख खडकाका अनुसार विद्यालयले आवश्यकता अनुसार हिउँदे बिदा कट्टा गर्ने गरि कुनै पनि मितिमा विद्यालय बन्द गर्न सक्नेछन् ।

नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन विद्यालयस्तरमा निशुल्क शिविर कार्यक्रमको शुरु गरिसकेको र स्थानीय संघसंस्थाको समन्वयमा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गरिने बताउँनुभयो ।


प्रकाशित | ३२ श्रावण २०८०, बिहीबार २०:०९