सूर्यविनायक नगरपालिकाले वहाल कर स्वयं घोषणा अभियान संचालन गर्ने र ब्यवसाय दर्ता अभियानलाई निरन्तरता दिने

भक्तपुर : सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षमा वहाल कर स्वयं घोषणा अभियान संचालन गर्ने भएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा वहाल कर स्वयं घोषणा अभियान संचालन गर्ने उल्लेख गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाले घर जग्गा वहाल करलाई नगरपालिकाको स्थायी स्रोतका रुपमा विकास गर्नका लागि वहाल कर स्वयं घोषणा अभियान संचालन गर्ने नीति तथा कार्यक्रममा समावेश गर्नु भएको हो ।

“हाम्रो कर, हाम्रै विकासको भर” भन्ने नारा सहित गत आर्थिक वर्षमा संचालन गरिएको व्यवसाय दर्ता अभियानबाट थप पन्ध्र सय वटा व्यवसाय दर्ता तथा सूचीकरण भएको भए पनि अझै ठूलो संख्यामा व्यवसायहरु करको दायरामा आउन बाँकि रहेकोले व्यवसाय दर्ता अभियानलाई निरन्तरता दिइने पनि उल्लेख छ ।

राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउन क्षमता विकासमा जोड दिइनेछ । करदातामैत्री एवं प्रविधिमैत्री कर प्रशासन, उत्कृष्ट करदातालाई सम्मान गर्ने, नगरपालिकामा संचालित लेखा प्रणाली (सूत्र) मा राजस्वलाई समावेश गरी स्थानीय राजस्व व्यवस्थापन सूचना प्रणाली लागू गरिने, राजस्व सुधार योजना कार्यान्वयन गर्नुका साथै यस नगरपालिका क्षेत्रमा रहेको राष्ट्रिय प्राणी उद्यान र सामुदायिक वनमा पर्या पर्यटनका गतिविधिहरु संचालन गर्ने भएको छ ।

त्यस्तै, नगरपालिकाको मनोरम उच्च भौगोलिक क्षेत्रमा पर्यटकीय गतिविधि संचालन गर्ने र राजस्वका थप क्षेत्रहरुको खोजी गरी राजस्व संकलन कार्यलाई थप प्रभावकारी बनाइने, भू उपयोग योजना अनुसार भएको भूमिको वर्गिकरणको आधारमा भूमि तथा सम्पत्ती करका सम्बन्धमा विगत लामो समयदेखि निर्धारण गरिएको सम्पत्ति करको दरलाई यथार्थपरक र समयानुकूल समायोजन गरिने पनि नीत तथा कार्यक्रमा समावेश गरिएको छ ।


प्रकाशित | ११ श्रावण २०८०, बिहीबार २१:४७