सूर्यविनायकले घ्याम्पेडाँडादेखि मालिगाउँ हुँदै काँक्राबारीसम्मका क्षेत्रहरुलाई पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्ने

भक्तपुर । सूर्यविनायक नगरपालिकाले पर्यटन प्रबद्र्धनमा विशेष जोड दिने भएको छ । नगरपालिकाले नगरभित्रका विभिन्न क्षेत्रलाई पर्यटन पब्रद्र्धनका रुपमा विकास गर्ने नीति लिएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घ्याम्पेडाँडा, रानीकोट, चुच्चेढुंगा, पोखरीथुम्का, अनन्तलिङ्ग, कैलाशडाँडा, सुवर्णेश्वरडाँडा, मालिगाउँ, बुकाचोगढी, काँक्राबारी, भंगाल, सल्लाघारी, राधाकृष्ण मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरुलाई साहसिक एवं मनोरञ्जनात्मक खेलस्थल, पार्क, संग्रहालय, उद्यान, पदमार्ग जस्ता पर्यटकीय पूर्वाधार निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्ने भएको छ ।

त्यस्तै, रैथाने उत्पादनलाई पर्यटनसंग जोड्ने नीति पनि लिएको छ । पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा आवश्यक संरचना एवं पूर्वाधार निर्माणको लागि सार्वजनिक निजी साझेदारीको अवधारणा कार्यान्वयनमा ल्याईने, पर्यटन क्षेत्रमा निजी लगानी आकर्षित गर्न नगरक्षेत्रभित्रका पर्यटकीय संभावनाको विषयमा यस वर्ष राष्ट्रियस्तरका उद्यमी व्यवसायीको मेला आयोजना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख बासुदेव थापाले नगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा र खाली रहेका नीजि जग्गाहरुलाई हरियाली क्षेत्रको रुपमा विकास गर्ने, सफा र हरित शहरको सपना साकार पार्न नगर क्षेत्रका खाली जमीनमा वृक्षारोपण, हरितपार्क तथा हरित पदमार्ग निर्माण गर्ने तथा नगरमा उत्पादित वस्तुको प्रवद्र्धन गर्न हाटबजार, प्रदर्शनी एवं कोसेली घरको स्थापना गर्ने नीति पनि समावेश गर्नु भएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि पर्यटन प्रबद्र्धनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


प्रकाशित | २६ असार २०८०, मंगलवार २१:५०