एनआरएनए विवाद समाधानउन्मुख, शुक्रबार निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनीक हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधानउम्मुख देखिएको छ । यही फेब्रुअरि २८ तारिखमा तोकिएको निर्वाचन तलमाथि नपर्ने गरि विवाद समाधान गर्ने विषयमा सरोकारवाला एकमत देखिएका हुन ।

एनआरएनएको लामो समयदेखि जारी विवाद हल गर्न सोमबार बसेको एनआरएनए उच्चस्तरीय समितिको बैठकमा कार्यदलले तयार पारेको २० पृष्ठ लामो प्रतिबेदनउपर छलफल भएको थियो ।

प्रतिवेदनको विषयमा समितिका अधिकांश सदस्यहरु सकारात्मक देखिए पनि छलफल नहुँदै बाहिरिएकोमा भने केहिले असन्तुष्ट ब्यक्त गरे । तर प्रतिवेदनलाई आधार बनाएर विवाद समाधान गर्नेमा भने सबै एकमत देखिए ।

प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको सात सदस्यीय उच्च स्तरीय समितिले प्रतिनिधि विवाद समाधान गर्न दुई जना कानूनी र एक जना विज्ञ रहेको कार्यदल गठन गरेको थियो । अधिवक्ता सज्जन बरसिंह थापा, अधिवक्ता मुकुन्द प्रसाद पौडेल र सूचना प्रविधि विज्ञ दिपेश प्रधान रहेको तीन सदस्यीय कार्यदलले आफ्नो २० पृष्ठ लामो प्रतिवेदन तयार पारेर उच्च स्तरीय समितिलाई बुझाएको थियो।

समितिले प्रतिवेदनमा ७ बुँदे निश्कर्ष तथा आफ्नो राय पनि पेश गरेको थियो । प्रतिवेदनले बेलायत, अमेरिका, अष्ट्रेलिया, साईप्रस, अस्ट्रिया, फ्रान्स, न्युजिल्याण्ड, लक्जेम्वर्ग, पिएनजी, रसिया, कोष्टारिका, मेक्सिको, रुवाण्डा, जापानलगायतका देशको विवादको विषय र विधानको ब्याख्या गरेको थियो ।

उच्चस्तरीय समितिले प्रतिवेदनको आधारमा विवादीत एनसिसीहरुलाई निवर्तमान र वर्तमान कार्यसमिति बसेर निकास निकाल्न तीन दिनको समयसिमा तोकेको छ । तीन दिनपछि बिहीबार अर्थात १० फेब्रुअरिमा बस्ने समितिको अर्को बैठकले मतदाता नामावली निर्वाचन समितिलाई दिने निर्णय गर्ने भएको छ ।

एनआरएनएको विवाद समाधानका लागि गठित स्वतन्त्र समितिले तयार पारेको २० पृष्ठ लामो प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

उता निर्वाचन समितिले भने ११ फेब्रुअरिमा निर्वाचन कार्यतालिका सार्वजनीक गर्ने र तोकिएको २८ फेब्रुअरीको निर्वाचन जसरी पनि गर्ने गरि तयारी गरिरहेको जनाएको छ ।


प्रकाशित | २५ माघ २०७८, मंगलवार ११:२८