६ चिनियाँ जहाज बेच्ने, आन्तरिक उडानलाई पाँच नयाँ जहाज खरिद गर्ने निगमको योजना

काठमाडौं : नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि पाँच थान जहाज खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । निगम व्यवस्थापनले सुगम क्षेत्रमा उडान गर्न दुई थान ठूला एटिआर वा सिआरजे इन्जिनका जहाज र दुर्गम क्षेत्रमा उडान गर्न तीन थान ट्विनअटर जहाज खरिद प्रक्रिया अगाडि बढाएको हो । ६ थान चिनियाँ जहाज नचलाउने निर्णय गरेको निगमले पाँच थान नयाँ जहाज खरिदका लागि अर्थ मन्त्रालयसँग छलफल थालेको छ । 

पाँच थान जहाज खरिदका लागि कम्तीमा पनि ७ अर्ब हाराहारी बजेटको आवश्यकता पर्ने अनुमान छ । चिनियाँ जहाज उडाउन नसकिएका कारण आन्तरिक उडानका लागि जहाज अपरिहार्य भएकाले प्रक्रिया सुरु गरिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए । निगम व्यवस्थापनले १५ साउनदेखि चिनियाँ जहाज नउडाउने निर्णय गरिसकेको छ । अहिले निगमसँग चिनियाँबाहेक तीन थान ट्विनअटर जहाज भए पनि दुई थान मात्रै चालू अवस्थामा छन् । ‘दुर्गममा सेवा दिन निगमलाई जहाज आवश्यक छ, यता सुगममा भाडा नियन्त्रण गर्न पनि निगमलाई केही ठूला जहाज चाहिन्छ,’ घिमिरेले भने ।

चालू आर्थिक वर्षको बजेटमा जहाज खरिदका लागि बजेट प्रस्ताव पठाएको, तर नपरेको भए पनि अहिले जहाज खरिदको आवश्यकता महसुस अर्थ मन्त्रालयले पनि गरेकाले छलफल भइरहेको घिमिरेले जानकारी दिए । ‘अनौपचारिक छलफलबाट अहिले व्यापारिक योजना बनाएर प्रक्रिया सुरु गरेका छाँै, सकारात्मक निर्णय हुनेमा आशावादी छाैं,’ घिमिरेले भने । 

 निगमका तीन थान ट्विनअटर पनि भाडामा दिन चलखेल
नेपाल वायुसेवा निगमका तीन थान ट्विनअटर जहाज पनि निजी कम्पनीलाई भाडामा दिने चलखेल भइरहेको छ । आन्तरिक उडान गर्ने निगमका तीन जहाजमध्ये एक थान ५ वर्षदेखि मर्मत नगरी ह्यांगरमा राखिएको छ भने दुई थानले उडान भरिरहेका छन् । चिनियाँ जहाज नचलाउने निर्णय गरेको निगमले ट्विनअटर जहाज पनि भाडा वा बिक्री गर्ने योजना बनाएको हो । निगम व्यवस्थापनले भने पुरानो जहाजमा खर्च धेरै बढेको भन्दै नयाँ जहाज खरिद गर्ने र ट्विनअटर जहाज भाडामा दिने तयारी गरेको स्रोतको भनाइ छ । सो जहाज भाडामा लिन यती समूहले लबिङ गरिरहेको पाइएको छ ।

विगतमा पनि दुई थान ट्विनअटर जहाज सोही समूहले भाडामा प्रयोग गरिरहेको अवस्थामा दुर्घटना भएका थिए । निगमका दुई जहाज सन् २०११ मा यती एयरलाइन्सले मासिक १० हजार डलर भाडामा प्रयोग गरिरहँदा सन् २०१३ र २०१४ मा दुर्घटना भएका थिए । डोल्पामा भएको दुर्घटनापछि निगमले पाउनुपर्ने बिमाबापतको भुक्तानीसमेत यतीले नै ५० प्रतिशत लिएको थियो । निगमको आफ्नो रजिस्ट्रेसन भएको जहाजमा समेत बिमाको रकम यतीले ५० प्रतिशत हात लगाएको थियो । यसैगरी, यतीले अन्य जहाज पनि लिने गरी लबिङ गरिरहेको छ ।  

निगमको चुक्ता पुँजी ५० अर्ब पुर्‍याउन प्रस्ताव 
निगम सञ्चालक समितिले निगमको चुक्ता पुँजी ५० अर्ब पुर्‍याउने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । हाल निगमको सम्पत्ति १ खर्ब हाराहारी रहे पनि चुक्ता पुँजी ३३ करोड मात्रै छ । ‘चुक्ता पुँजी वृद्धिपछि निगमलाई धेरै सहज हुनेछ, ऋण दिने संस्थाले समेत पत्याउनेछन्,’ घिमिरेले भने । निगमको स्थापनादेखि नै ३३ करोड चुक्ता पुँजी रहेको छ । विदेशी बैंकहरू पनि ऋण लिएर जहाज खरिद गर्नका लागि पनि सरकारले पुँजी बढाउनुको विकल्प नरहेको घिमिरे बताउँछन् । पर्यटन मन्त्रालयले अर्थको सहमतिमा मन्त्रिपरिषद् लगेर प्रस्ताव गराउन सकेमा निगमको चुक्ता पुँजी ५० अर्ब हुनेछ ।  

निगमसँग अन्तर्राष्ट्रिय उडानमा एयरबस ३३०/२०० सिरिजका दुई थान वाइडबडी, एयरबस ३२०/२०० सिरिजका दुई थान न्यारोबडीसहित चार थान जहाज रहेका छन् । यता आन्तरिक उडानमा चिनियाँ ६ थान र ३ थान ट्विनअटर जहाज रहेका छन् ।

चिनियाँ जहाज उडानमा कुनै समस्या छैन : फिजोनाथ नेपाली
प्रशिक्षक पाइलट (आइपी) वाई १२ इ

जहाज साउन १६ देखि नचलाउने भन्ने सुनेको छु । तर, आधिकारिक त्यस्तो केही पनि जानकारी आएको छैन । एक वर्षदेखि म वाई १२ इ जहाज उडान भरिरहेको छु । व्यवस्थापनले भनेजस्तो खास समस्या देखिँदैन । लुक्लामा पनि ट्विनटरले भन्दा २ जना मात्रै कम बोक्ने हो । अन्य विमानस्थलमा पनि खास समस्या छैन ।

स्पेयर्स पार्ट्सको खपत पनि खासै विमानले गरेको छैन । एयरलाइन्स कम्पनीहरूले जहाज खरिद–बिक्री गर्छन् । जुन संसरभरिकै चलन हो । तर, हामी उल्टो बाटो हिँड्यौँ । जहाज बिक्री गर्ने हो भने पनि जहाज ग्राउन्डेड गरेर होइन, उडाइरहनुपर्छ । यस्तो भएमा मूल्य राम्रो आउँछ । जहाज थन्क्याएर बिक्री गर्दा कवाडीको भाउ आउन सक्छ । जहाज उडाउने काम रोक्नुहुँदैन । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा प्रकाशित छ ।


प्रकाशित | ११ श्रावण २०७७, आईतवार ०७:४४