‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला’ भब्य रुपमा सम्पन्न, ५ हजार भन्दा बढीले गरे अवलोकन

भक्तपुर: सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा सञ्चालीत तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला भब्य रुपमा सम्पन्न भएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबारबाट शूरु भएको मेला आइतबार सम्पन्न भएको हो । मेलाको एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख बासुदेव थापाले समापन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकाको लागि मेला पहिलो अनुभव भएकाले यसलाई अनुभवको रुपमा लिदैं आगामी दिनमा अझ ब्यवस्थित रुपमा आयोजना गर्ने बताउनुभयो ।

नगरपालिकाले दिर्घकालीन सोचका साथ मेला आयोजना गरेको बताउनुहुँदै मेयर थापाले मेला भब्य रुपमा सम्पन्न गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । नगर प्रमुख थापाले प्रतिकूल मौसमका बाबजुत पनि पाँच हजार भन्दा बढीले मेलामा अवलोकन गरेको बताउनुभयो ।

नगरपालिकाले विकास निर्माणका साथै पछिल्लो समय आयमूलक तथा सिपमूलक क्षेत्रको विकास गर्न लागिपरेको र मेला त्यसैको शूरुवात भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले मेलाको अवलोकन गर्नुहुँदै सूर्यविनायकले आर्थिक विकासमा जोड दिएकोमा खुसी ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख तथा मेला आयोजक समिति संयोजक सरिता तिमिल्सिना भट्टराईले नगरपालिका मानवीय विकासकामा लागिपरेको र मेला त्यसको शूरुवात भएको बताउनुभयो ।

मेलामार्फत स्थानीयसँग भएको क्षमता तथा सीपलाई बाहिर ल्याउन मद्धत पुगको बताउनुहुँदै आगामी दिनमा वर्षमा एक वा दुई पटक गर्ने गरि तयारी गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेल तथा साना उद्योग ब्यवसायी महासंघका उपाध्यक्ष चन्दन कृष्ण श्रेष्ठले सूर्यविनायकले पहिलो पटक मेला आयोजना गरेकोमा खुसी ब्यक्त गर्दै मेलाले घरेलु तथा साना उद्योगको प्रबद्र्धनमा सहयोग पुगेको भनाई राख्नुभयो ।

नगरपालिका आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रवक्ता रविन्न्द्र सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा शंकरापुरकी उपप्रमुख समिता श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ भक्तपुरका अध्यक्ष प्रेम खर्वुजा, १० वटै वडाका वडाध्यक्षहरु क्रमशः सानुकाजी कायस्थ, प्रदिप कार्की, दिपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खडका, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री र शिवराम रावत, नगरकार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरु, ब्यवसायी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो ।

मेलामा सूर्यविनायकका लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायहरु, स्थानीय मौलिक उत्पादनहरु जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित ९० वटा स्टलहरु राखिएको थियो।

मेलाको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहेको थियो । समापन कार्यक्रममा स्टल राख्ने ब्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।


प्रकाशित | १७ असार २०८०, आईतवार २१:५३