एनआरएनए यूकेद्धारा गण्डकी प्रदेश सरकारलाई अक्सिजन मेसिन हस्तान्तरण

पोखरा – गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके ) ले गण्डकी प्रदेश सरकारलाई अक्सिजन मेसिन (कन्सन्ट्रेटर) हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघ युकेका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डमर घलेले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आइतबार मेसिन हस्तान्तरण गर्नुभएको हो ।

एनआरएनए युकेले कोभिड १९ विरुद्ध लड्न नेपालको सात वटै प्रदेशका लागि २–२ थान गरी १४ थान अक्सिजन मेसिन (कन्सन्ट्रेटर) प्रदान गर्दैछ ।

मेसिन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले एनआरएनए यूकेले नेपालको हरेक दुःखमा साथ दिँदै आएको स्मरण गर्दै अध्यक्ष पुनम गुरुङ लगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा एनआरएनए युकेका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष घलेले एनआरएनए गैरआवासीय नेपालीहरू जोड्ने विश्वकै धेरै सदस्य संख्या भएको संस्था भन्दै संघले नेपालको हरेक विपतमा सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार नरजंग गुरुङ, सदस्य चन्द्र गुरुङ, लोक गुरुङ, भोज गुरुङ लगायतको उपस्थिति थियो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले अब अन्य ६ वटा प्रदेशमा पनि यथाशक्य छिटो अक्सिजन मेसिन हस्तान्तरणको संयोजन गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो । ती सामाग्री १३ लाख ६० हजार रुपैयां बराबरका रहेको बताइएको छ ।


प्रकाशित | १९ श्रावण २०७७, सोमबार १२:१०