वायु गुणस्तर व्यवस्थापन कार्य योजना निर्माण गर्ने पहिलो पालिका बन्यो चाँगुनारायण, मेयर खत्रीद्धारा कार्य योजना सार्वजनीक (फोटोफिचर)

भक्तपुर:  चाँगुनारायण नगरपालिकाले वायू गुणस्तर ब्यवस्थापन कार्य योजना सार्वजनीक गरेको छ । नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गर्नुभएको हो ।

देशभरका ७५३ वटा पालिकामध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाउने पहिलो हो । नगरपालिकाले कार्ययोजना निमार्णका लागि नगर प्रवक्ता जनक खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले सरोकारवालाहरुसँग ब्यापक छलफल गरि तयार पारिएको कार्य योजना सार्वजनीक गरिएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले नेपालको संविधान २०७२ को धारा ३० ले सबै नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे बमोजीम चाँगुनारायण नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियान अन्र्तगत वायु गुणस्तर सुधारको लागि पहिलो चरणमा वायू गुणस्तर योजना निर्माण गरी कार्यान्वयनको चरणमा अगाडि बढेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले कुनै पनि योजना वा कार्ययोजना छनौट वा निर्माण गर्दा नागरिकको सहभागिता अनीवार्य हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नगरपालिकाले वायू गुणस्तर कार्ययोजना निर्माणको क्रममा समेत आम नागरिकको सहभागिता कार्ययोजना निर्माण गरिएको बताउनुभयो ।

नगरपालिकाकाको २०७९ पुष २४ गते बसेको १६ औं कार्यपालिका बैठकको निर्णय अनुसार वायु गुणस्तर ब्यवस्थापन योजना लागि पाँच सदस्यीय कार्यदल गठन भई कार्य प्रारम्भ गरेको र कार्यदलले विभिन्न चरणमा नागरिक सञ्जाल, ईट्टा उद्योग ब्यवसायी, फोहोरमैला संकलन तथा ब्यवस्थापन गर्ने सेवा प्रदायक संस्था, सार्वजनिक यातायात ब्यवसायी, विद्यालय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र विषयगत शाखा लगायत सरोकारवाला ब्यक्ति तथा संस्थाहरुसँग बैठक, समूहगत छलफल र अन्र्तक्रिया लगायतका कार्य गरी जनस्तरबाट राय सुझाव संकलन गरेर कार्ययोजना निर्माण गरिएको मेयर खत्रीले स्पष्ट पार्नुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्रको वायू गुणस्तर सुधारको लागि यूएसएआईडी स्वच्छ हावा परियोजना र वातवारण तथा जनस्वास्थ्य संस्था एन्फोको सहयोगमा नगरपालिकाको वायू गुणस्तर योजना २०८० तयार पारिएको हो । नगरपालिकाले तीन वर्षे वायू गुणस्तर योजनालाई कार्यान्वयन गर्न आफ्नो आन्तरिक स्रोत साधनको साथै सहयोगी संघंस्थाहरुको सहयोगलाई समेत जोडेर योजना कार्यान्वयनको चरणमा अगाडि बढ्नेछ ।

त्यस्तै, नगर प्रमुख खत्रीले सरसफाई नै सभ्यता हो, यही भावना जगाऔं, सबै मिली चाँगुनारायणलाई हराभरा बनाऔं भन्ने नारालाई सार्थक बनाउन योजना कार्यान्वयन गरी स्वच्छ र सफा नगरपालिका बनाउने अभियानमा सबै सरोकारवालाहरुको सक्रिय सहभागिताको लागि आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वायू गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्दा अत्यन्तै खुसी भएको बताउनुभयो । पन्थीले खानेपानी, वातावरण र फोहोरमैला ब्यवस्थापनमा नगरपालिकाले ब्यापक छलफल गरेर कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले चाँगुनारायण नगरलाई स्वच्छ। हराभरा बनाउने अभियानमा जनप्रतिनिधिहरु एकढिक्का भएर लागिरहेको बताउनुहुँदै स्वच्छ हावा परियोजना कार्यान्वयनमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बिर बहादुर खडका, कार्यपालिका सदस्य कमला गिरी भारती, भक्तपुर ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बा, नेप्सेम्याक भक्तपुर शाखा प्रमुख बाबुराम चौलागाई, एन्फो प्रोजेक्ट कोअर्डिनेटर सृजना शाक्य, प्रोजेक्ट म्यानेजर जयश्री राजभण्डारी, स्वच्छ हावा संजाल चाँगुनारायण नगरपालिका अध्यक्ष रवीता कार्कीलगायतले मन्तब्य राख्नु भएको थियो ।

सो अवसरमा चाँगुनारायण नगरपालिकामा पहिलो पटक दर्ता भएको संस्था स्वच्छ हावा संजाललाई दर्ता प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

चाँगुनारायण नगरपालिकाका स्वच्छ हावा कार्यक्रम संयोजक सुरन्द्र लामिछानेले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुसहित जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सरोकारवाला निकाय र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 


प्रकाशित | १७ बैशाख २०८१, सोमबार १९:४०