सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर बृद्धिका लागि प्रतिबद्ध छौ : मेयर, बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर बृद्धिका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सुनपा-५ मा अवस्थित कटुञ्जे आधारभूत विद्यालयको पाँचौ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित पूर्व प्रधानाध्यापक तथा शिक्षकहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न नगरपालिकाले नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको स्पष्ट पार्नुभयो ।

सूर्यविनायकले थालनी गरेको नमूना र असल अम्यास उपत्यका नगरपालिका मेर्यस फोरमबाट समेत आगामी वर्षदेखि सबै सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने निर्णय भएको जानकारी गराउनुहुँदै यो नगरपालिकाको लागि खुसीको कुरा भएको बताउनुभयो । स्मरण रहोस उपत्यकाका मेर्यस फोरममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख थापा उपाध्यक्ष हुनुहुन्छ ।

मेयर थापाले गुणस्तर अभिबृद्धिका लागि प्रधानाध्यापक तथा शिक्षकहरुलाई तालिम प्रदान गर्दै आएको र अबको मुख्य प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार नै रहेको बताउनुभयो । उहाँले शैक्षीक क्षेत्र सुधारका लागि नगरपालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको समेत बताउनुभयो ।


प्रकाशित | १६ जेष्ठ २०८०, मंगलवार १७:३२