कागेश्वरी मनोहरामा बजेटको पूर्व तयारी, टोल सुधार समितिका पदाधिकारीसँग छलफल, लागत सहभागितामा काम गर्न जोड

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारीको लागि पहिलो पटक टोल सुधार समितिसँग छलफल गरेको छ । नगरपालिकाका ९ वटै वडाका टोल सुधार समितिका पदाधिकारीसँग अन्तरक्रिर्या गर्दै योजना माग गरिएको हो ।

नगरपालिकाले टोल सुधार समितिसँगको साझेदारीका स्थानीय ससाना आवश्यकता र मागलाई सम्बोधन गर्ने योजना अनुरुप बजेटको पूर्व सन्ध्यामा टोल सुधार समितिका पदाधिकारीहरुसँग छलफल गर्दै नयाँ अम्यासको शूरुवात गरेको हो ।

सो अवसरमा बोल्नुहुँदै नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले वडाभन्दा पनि तल्लो तह टोल सुधार समिति रहेको बताउँदै दुवै पक्षबीच छलफल गरेर गरिने योजना तर्जुमा मात्र साँचो अर्थमा सबैले अपनत्व गर्ने खालको हुने भएकाले छलफलको महसुस गरेको बताउनुभयो ।

मेयर कार्कीले टोल सुधारबाट आएका सुझावलाई आफूले सम्पत्तिको रुपमा लिर्दै आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

नगरपालिकाले टोल सुधार समितिसँग लागत सहभागितामा काम गर्न चाहेको बताउनुभयो । उहाँले ५० ५० प्रतिशत लागत सहभागिता हुने गरि टोलका ससाना विकासका काम गर्न सकिने पनि बताउनुभयो । साथै उहाँले टोल सुधार समितिलाई वडा कार्यालयले गर्ने हरेक काममा सहयोग गर्न र सूचना दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख शान्ता थापाले जनभावनालाई सम्बोधन हुने गरि नगरपालिका अगाडि बढिरहेको बताउनुहुँदै टोल सुधार समितिले राख्ने हरेक योजना र मागलाई सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले स्थानीय सरकार तल्लो तहसम्म पुगे मात्र सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्ने भन्दै नगरपालिकाले सोही अवधारण अनुसार टोल सुधार समितिसँग बजेटको पूर्व सन्ध्यामा छलफल चलाएको स्पष्ट पार्नुभयो । उहाँले नगरपालिकाभित्र टोल सुधार समिति गठन हुन बाँकि ठाउँमा पनि चाँडै समिति गठन गरिसक्ने बताउनुभयो ।

वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापाले समृद्ध नगर बनाउने संकल्प पूरा गर्न टोलबासीका महत्वपूर्ण सुझावहरु ग्रहण गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नंं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनीले नगरपालिकाले टोल सुधार समितिसँग छलफल गरेर नौलो अम्यासको शूरुवता गरेकोमा खुसी ब्यक्त गर्नुहुँदै सिमित स्रोतका बाबजुत पनि असिमित आवश्यकता पूरा गर्न कठिनााई हुने भएकाले प्राथमिकताका आधारमा योजना छनौट गर्नुपरेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न टोल सुधार समितिका पदाधिकारीहरुले आफ्नो टोलमा भएका समस्या, नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका बारेमा जानकारी गराउनु भएको थियो ।


प्रकाशित | ३ असार २०८०, आईतवार २०:५८