एजेन्सी – इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफए कपको च्याम्पियन बनेको हो ।
सिटीलाई एफए कपको च्याम्पियन बनाउन इल्केए गुन्डोगानले दुई गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भएको थियो । उनले बेभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।
३३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । आरोन वान विशाखाको हेडरलाइै ज्याक ग्रेलिसले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा ब्रुनो चुकेन ।
५१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।
सिटीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीलाई यो सिजन ट्रेवल उपाधि जित्ने सम्भावना बढेको छ । सिटीले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ ।
इन्टर मिलानलाई हराउन सके सिटीले ट्रेवल उपाधि जित्ने छ । सिटीसँगको हारसँगै युनाइटेड सिजनको दोस्रो उपाधि जित्नबाट वञ्चित बन्यो ।
प्रकाशित | २० जेष्ठ २०८०, शनिबार २२:३०