विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने ब्यवस्था गर्ने भएको छ । आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ आयोग तयारीमा जुटेको हो ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको तयारी भइरहेको जानकारी दिनु भयो । दुवडाीका अनुसार यसपाली विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको हो ।

विदेशमा करिब ४० लाख नेपाली नागरिक रहेको अनुमान छ । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो ।

विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताउनुुभयो ।

निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरिसकेको छ।

आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदैछ ।

यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्ने गरी आयोगले तयारी गरिरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनु भयो । २०७९ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल पनि सकिँदै छ ।

काभ्रेको धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि कुनै पनि तहमा म्याद थपको व्यवस्था नभएकाले कार्यकाल सकिनुअघि नै आयोगले निर्वाचन गर्नै पर्ने बताउनु भयो ।

उहाँका अनुसार सो समयभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि गर्ने आयोगको तयारी छ । आयोगले सोहीअनुसार कार्ययोजना बनाएर सरकारसँग निर्वाचन’दलगत छलफल गर्ने तयारी गरिरहेको हो । निर्वाचन आयोगले हाल भने राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा निर्वाचन गर्ने गरी तयारी तीव्र बनाएको छ ।


प्रकाशित | ९ पुष २०७८, शुक्रबार १२:१६