दार्चुलामा हिमपहिरो, पाँच यार्सागुम्बा सङ्कलक सम्पर्कविहीन

काठमाडौँ -दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा वैशाख १९ मा गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक सम्पर्कविहीन भएका छन्।

हिमपहिरोमा परी डोटीको जोरायल गाउँपालिका–२ बुडरका तीन महिला तथा दार्चुलाको दुहु गाउँपालिका पोक्से–४ का एक पुरुष र एक महिला हराएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

वैशाख १ गते दिउसो ३ बजे हिमपहिरो गएको थियो। हिमपहिरोमा एकै ठाउँमा बसेका १२ जना यार्सा सङ्कलक हराएका थिए। उनीहरुमध्ये सात जना सकुशल रहेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ईश्वरीदत्त भट्टले बताए। हराएकाहरूको नाम खुल्न नसकेको उनले बताए।

डीएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित घट्नास्थल पुगेका छन्। हिमपहिरो गएका वेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उनले बताए।

उनले भने, “घटनास्थल वरपर बाक्लो हिमपात भएको छ, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था छैन।”

राति उद्धार गर्न कठिनाइ भएका कारण सशस्त्र प्रहरीको टोली छाङरु नै फर्किएको छ। हिमपहिरो गएको स्थानमा सकुशल रहेका सबै यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा लगेको उनले बताए।

लेक लाग्ने हिमाली भेगमा बस्ने ठाउँ अभाव रहेकाले टोली यार्सा सङ्कलकसहित फर्किएको र बुधबार बिहानै उद्धारमा खटिने उनको भनाइ छ। हिमपहिरोपछि यार्सागुम्बा सङ्कलक त्रसित बनेका छन्।

यार्सागुम्बा सङ्कलक बस्दै आएका केही त्रिपाल हिमपहिरोका कारण पुरिएका थिए। अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए। उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए। यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सो क्षेत्रमा सर्वसाधारण गएका थिए। (रासस)


प्रकाशित | २० बैशाख २०८०, बुधबार ०६:४९