अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएसँगै वीरगञ्ज बजार सुनसान

वीरगञ्ज : वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालका लागि निषधाज्ञा जारी गरिएको छ । दैनिक नयाँ संक्रमित फेला पर्न थालेपछि कोरोना संक्रमण नियन्त्रण बाहिर जान जान नदिन स्थानीय प्रशासनले निशेषधाज्ञा जारी गरेको हो ।

शुक्रबार दुई जना संक्रमितको मृत्यु भएको र पछिल्लो एकसातामा कोरोना संक्रमणबाट तीन जनाको वीरगञ्जमा नै मृत्यु भएको थियो । संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार महानगरमा अर्को आदेश नभएसम्मका लागि शनिबार बिहान ५ बजे देखि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन नपाउने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन गर्न पाइने छैन ।

त्यस्तैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । निषेधाज्ञाको कारण शनिबार पहिलो दिन वीरगञ्ज बजार क्षेत्र सुनसान बनेको छ ।


प्रकाशित | १० श्रावण २०७७, शनिबार २०:४०