सोमबार ब्रेक लागेको शेयर बजारमा फेरि सुधार : कारोबार रकममा भने भारी गिरावट

काठमाडौं : नयाँ वर्ष लागेसँगै लगातार बढेको शेयर बजार सोमबार ब्रेक लागेकोमा आज फेरि सुधार आएको छ । तर कारोबारमा भने भारी गिरावट आएको छ । मङ्गलबार सेयर बजार ३.७४ अङ्क बढेको छ । सोमबार ७ अङ्क घटेको सेयर बजार मङ्गलबार बढेर नेप्से परिसूचक १ हजार २६० अङ्कमा पुगेको हो ।

मङ्गलबार ६० करोड ६४ लाख २३ हजार रुपैयाँबराबरका १७ लाख ७५ हजार ९८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्से लिमिटेडले जनाएको छ । सोमबार १ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार १७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता सेयर ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँमा किनबेच भएको छ ।

सोमबार भन्दा मंगलबार कारोबार रकममा निकै गिरावट आएको छ । सोमबार एक अर्ब भन्दा बढीको सेयर किनबेच भएको थियो । मंगलबार ११ उपसमूहको कारोबार भएको छ । कारोबारमा बैंकिङ ६.६६, डेभलपमेन्ट बैंक०.५७, वित्त कम्पनी १.४५, निर्जीबन बीमा कम्पनी १६.४१, उत्पादन तथा प्रशोधन ४६.०८ अंकले बढेको छ ।

बाँकी रहेका व्यापार, होटल, जलविद्युत, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा तर्फ गिरावट आएको छ । कारोबार रकममा आधारमा छिमेक लघुवित्त विकास बैंक अग्र स्थानमा देखिएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र एनएमबी बैंक रहेका छन् ।  छिमेकीको सेयर प्रतिकित्ता १ हजार २१ रुपैयाँमा ४ करोड ९६ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । छिमेकीको लाभांश बुक गर्न लगानीकर्ता झुम्मिएका हुन् ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १८:०२