शिक्षा र स्वास्थ्य क्षेत्र अबको पहिलो प्राथमिकता: बासुदेव थापा, मेयर

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गर्नु अबको आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको छ । पहिलो कार्यकालमा विकास निर्माणमा उदाहरणीय र नमूना कार्य गर्न सफल मेयर थापाले अबको ध्यान शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रित हुने बताउनु भएको हो ।

मेयर थापाले आफ्नो दोस्रो कार्यकालमा सुशासन कायम गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन तथा अधुरा योजना पूरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधारको लागि नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धामार्फत विद्यालयका प्रधानाध्यापक छनौट गर्न सफल हुनु भएको मेयर थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्नु अबको पहिलो प्राथमिकता हुने बताउनुभयो ।

उहाँले नीति, नियम र ऐनमा टेकर काम गरेमा सबैको सहयोग मिल्ले गरेको बताउँदै राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणमा ऐक्यबद्धता भन्ने नाराका साथ विकास निर्माणमा सर्वसम्मत निर्णय गरेर अगाडि बढिरहेको जानकारी समेत दिनुभयो ।

नगरपालिकामा नयाँ आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई स्वागत गर्ने क्रममा मेयर थापाले पहिलो कार्यकालमा विभिन्न निकायबाट प्रशस्तै बजेट ल्याएर विकास निर्माणको काम गरेकोमा अपूरा योजना पूरा हुने चरणमा रहेको बताउनुभयो ।

उहाँले कर्मचारी र जनप्रतिनिधि एक अर्काका परिपूरक भएको बताउनुहुँदै कर्मचारी र जनप्रतिनिधि नमिली विकास निर्माण सम्भव नभएको बताउनुभयो । आफ्नो पहिलो कार्यकालमा नगरबासी र कर्मचारी सबैको सहयोग मिलेकै कारण विकास निर्माणमा फड्को मार्न सफल भएको मेयर थापाको भनाई छ ।


प्रकाशित | १८ बैशाख २०८०, सोमबार १७:२९